गृहमन्त्रीको अभिव्यक्तिमाथि पूर्व मुख्यमन्त्री केदार कार्कीको आक्रोश : “देश जायभाड बनाउने काम बन्द गरौं”

आइतबार, ०२ कार्तिक २०८२
File Photo

विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले हालको राजनीतिक अवस्थाप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले पार्टीभित्र देखिएको अशान्ति र देशभर बढ्दै गएको अस्थिरताप्रति नेताहरू जिम्मेवार बन्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै कार्कीले लेखेका छन्, “नेपाली कांग्रेसका स्वघोषित होनहार नेताहरू—पदाधिकारी, पूर्व पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरू—‘जेनेरेसन जेड’ को भूत देखाएर पार्टीभित्र उथलपुथल मच्चाइरहेका छन्। पार्टीलाई अल्झाउने होइन, मंसिरमा महाधिवेशन गर अनि देशमा के भइरहेको छ, त्यो हेर्नु।”

पूर्व मुख्यमन्त्री कार्कीले देशको समसामयिक समस्याबारे पार्टीले स्पष्ट धारणा दिन नसकेको भन्दै असन्तोष जनाए। उनले थपे, “देशको विषयमा विज्ञप्ति आउँदैन, नेताहरू सामाजिक सञ्जालमा लाइभ पनि हुँदैनन्, अनि गृह मन्त्रीले के भनेका छन् त्यो पनि चुपचाप सुन्नुपर्ने?”

गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिमाथि प्रहार गर्दै कार्कीले भने, “आफैंले आन्दोलन गर्ने, हतियार चोर्ने, अनि गृह मन्त्री पनि आफ्नै पार्टीको हुनु — यो कस्तो विडम्बना हो? गृह मन्त्रीज्यू, तपाईं चुनाव गर्न खोज्दै हुनुहुन्छ कि मुठभेड गराउन?”

उनले राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति संघर्षले मुलुकलाई झन् संकटमा धकेलिरहेको टिप्पणी गरे। “अब आफ्नो गाड कोराकोर नगरी देशलाई सिङ्गो बनाउनेतिर लागौं,” उनले लेखेका छन्, “देश जायभाड बनाउने काम बन्द गरौं।”
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार