महाराजगन्ज प्रहरी हत्याकाण्ड : चारजनालाई पुर्पक्षका लागि कारागार पठाइयो

आरोपी भन्छन् : "सङ्कटकालको बेला माओवादी भन्दै आँखा फुटाइदियो, अहिले बदला लिएँ "

आइतबार, ०२ कार्तिक २०८२

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा काठमाडौँको महाराजगञ्जमा दुई प्रहरीको क्रूर हत्या प्रकरणमा संलग्न चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउने आदेश दिएको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए अनुसार, पक्राउ परेकाहरूले हत्यामा आफ्नो संलग्नता बयानमा स्वीकारेका छन्।

हत्या घटनामा प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तमसिंह थापाको ज्यान गएको थियो। रायको हत्या आरोपमा सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम बिक पक्राउ परेका थिए।

उनीहरूलाई असई रायको हत्या भिडिओ र फोटोको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

होमप्रसादले बयानमा बताए अनुसार, उनले २०५७ सालमा सङ्कटकालमा प्रहरीसँग भएको व्यक्तिगत झगडा र २०६५ सालदेखि काठमाडौँ बस्दै आएका कारण बदला लिन हत्या गरेका हुन्।

उनी हाल आफ्नै भतिजको किराना पसलमा काम गर्थे। अर्का प्रतिवादी टिकाराम बिक मासु र टिकट काउन्टरमा काम गर्थे र प्रहरी हत्यासँगै लुटपाटमा पनि संलग्न रहेको पाइएको छ।

यस्तै, जवान थापाको हत्या आरोपमा काभ्रेपलान्चोकका युवराज क्याप्छाकी र मकवानपुरका बुद्धिलाल थिङलाई अदालतले थुनामा पठाएको छ।

२८ वर्षीय थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। जेनजी आन्दोलनका क्रममा उनीमाथि क्रूर आक्रमण भएको थियो। घटनापछि शव सडकमा फालिएको थियो र नेपाली सेनाले उद्धार गरेको थियो।

अदालतमा बयान अनुसार, आरोपितहरूले प्रहरी कार्यालयमा आगजनी, तोडफोड र थुनुवाहरूमाथि आक्रमण समेत गरेका थिए। उनीहरूले आफूले गरेका क्रूरताको भिडिओ समेत बनाएका थिए।

सरकारी वकिल कार्यालयले अभियोग पत्रमा ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव र अन्य एकीकृत कसुरमा कारबाही माग गरेको छ। दोषी ठहरिएमा जीवित रहेसम्म कैद र पीडित परिवारलाई क्षतिपूर्ति दिने माग पनि राखिएको छ।

अदालतले कारागार पठाउने आदेशसँगै यस प्रकरणमा थप अनुसन्धान र अन्य संलग्न व्यक्तिहरूको खोजी प्रक्रिया जारी रहनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार