काठमाडौँ : सरकारले गत भदौ २४ गतेको विध्वंसमा संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया सुरु गरेको छ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन भएका थिए। शान्तिपूर्ण आन्दोलनमा सरिक कतिपय व्यक्तिले गलत नियतका साथ भदौ २४ गते राज्यका महत्वपूर्ण तथा ऐतिहासिक संरचनामाथि आगजनी र तोडफोड गरेको सरकारको निष्कर्ष छ।
यही निष्कर्षका आधारमा सरकारले विध्वंसमा संलग्नहरूको खोजी, नियन्त्रण, अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको हो।
आइतबार मात्रै दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ पक्राउ परेका छन्। उनी २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
घिसिङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट आठ दिनसम्म हिरासतमा राख्ने अनुमति लिएको छ।
अदालतको आदेशअनुसार उनलाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरिँदै छ। काठमाडौँ प्रहरी परिसरका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तसमेत हुन्।
उनीमाथि २०७९ असोज ४ र फागुन १० मा बैंकिङ कसुर सम्बन्धी दुई मुद्दा दर्ता भएका थिए।
यसअघि तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी) समूहका तेन्जिङ दावा लामा पक्राउ परेका थिए। प्रहरीका अनुसार उनको नागरिकताको प्रमाणपत्र काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सिस्टममा भेटिए पनि ढड्डामा निवेदनका कागजात भेटिएका छैनन्।
पेस्तोल देखाउँदै भिडियो खिचेको आरोपमा पक्राउ परेका लामाको जन्मदर्ता र नागरिकता नै शङ्कास्पद रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। यसबारे बुझ्न प्रहरीले काठमाडौँ महानगरपालिका–६ को वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ।
जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा तोडफोड गर्नेहरू पनि क्रमशः पक्राउ पर्न थालेका छन्। नेपाली काँग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्ने ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थामीको साथबाट फ्रिज र उफर बरामद गरिएको छ।
भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरू माथि राज्य पक्षको दमनका क्रममा भदौ २३ गते कम्तीमा २१ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। त्यसको भोलिपल्टको प्रदर्शनले विध्वंसको रूप लिएको थियो।
नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका महत्वपूर्ण संरचनामा आगजनी भएको थियो। ठूला दलका पार्टी कार्यालय र शीर्ष नेताहरूका घरमा समेत आगजनी र तोडफोड भएको थियो। धेरै ठाउँमा लुटपाट समेत भएको थियो।
आन्दोलनको नाममा विध्वंस मच्चाउने र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो। आपराधिक मानसिकता र पृष्ठभूमि भएका व्यक्तिहरूको खोजी गरी पक्राउ गर्दै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया