काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवार छनोटको गृहकार्य औपचारिक रूपमा सुरु भएको छ।
नेपाली काँग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार सिफारिस गरेर केन्द्र पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस समिति गठन गरेको हो।
रास्वपाबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्छन् भन्ने विषयले यतिबेला जनमानसमा व्यापक चासो पैदा गरेको छ।
सामाजिक सञ्जालमा झापा–५ बाट उम्मेदवारी दिने चर्चा चले पनि उनी त्यहाँबाट चुनाव नलड्ने भएका छन्। बालेनले काठमाडौँको कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ। काठमाडौँबाट सम्भव नभए महोत्तरीलाई विकल्पका रूपमा हेर्ने तयारी रहेको उनीनिकट युवाहरूले बताएका छन्।
बालेनका तर्फबाट रास्वपाको केन्द्रीय सदस्य बनेका पुरुषोत्तम यादवलाई मधेसका कुनै एक जिल्लाबाट उम्मेदवार बनाइने तयारी छ। तर यस विषयमा बालेनले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।
बालेनको घर काठमाडौँ क्षेत्र नम्बर २ मा पर्छ। यसअघि सो क्षेत्रबाट रास्वपाकी सोभिता गौतम निर्वाचित भएकी थिइन्। तर हाल उनको छवि कमजोर बनेको र यसपटक उनले चितवन–३ रोज्ने सम्भावना देखिएको छ। चितवन–३ सोभिताको घर क्षेत्र हो।
चितवन–२ बाट भने रास्वपा सभापति रवि लामिछाने उम्मेदवारी दिने बताइएको छ। उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए। यद्यपि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कायमै रहेकाले उनले चुनाव जिते पनि शपथ लिन नपाउने अवस्था रहेको बताइन्छ।
चितवन–१ बाट हरि ढकालले पुनः उम्मेदवारी दिने तयारी गरेका छन्। यसअघि रास्वपाबाट निर्वाचित शिशिर खनाल काठमाडौँ–६ नछाड्ने बताइरहेका छन्। तर त्यही क्षेत्रमा बालेननिकट युवानेताले पनि दाबी गरेपछि आन्तरिक प्रतिस्पर्धा चर्किएको छ।
डिपी अर्यालले धादिङमा चुनाव नलड्ने सङ्केत गर्दै काठमाडौँ–६ नै लक्ष्य बनाएका छन्। काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ र ७ मा गणेश पराजुलीको दाबी कायमै रहेको रास्वपानिकट स्रोतले जनाएको छ। काठमाडौँ–१ बाट पुकार बम उम्मेदवारी दिने तयारीमा छन्।
ललितपुर–३ मा कुमार बेन र ललितपुर–१ मा सुरेन्द्र बजगाईँलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ। दुवै बालेननिकट मानिन्छन्। ललितपुर–२ मा भने हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका जगदीश खरेलको नाम चर्चामा छ।
उनी रास्वपा प्रवेशको चरणमा रहेको बताइएको छ। काठमाडौँ–३ बाट कुलमान घिसिङ र भक्तपुर–२ बाट जितमान लामाले उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतको दाबी छ। सिराहाबाट तेजनारायण यादव र पुरुषोत्तम यादवले पनि रास्वपाबाट चुनाव लड्ने तयारी गरेका छन्। पहिचान आन्दोलनमा सक्रिय डेगेन्द्रसिंह थेगिम इलामबाट उम्मेदवार बन्ने तयारीमा छन्।
बालेन पक्षबाट रुपन्देही–३ बाट सन्तोष गिरी, अछामबाट भूपदेव शाह र कास्कीबाट गणेश पौडेल उम्मेदवार बन्ने चर्चा छ। पौडेलले यसअघि बालेनको चुनाव चिह्न ‘लौरो’ लिएर पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए।
डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालको निर्वाचन क्षेत्र भने अझै टुङ्गो लागिसकेको छैन। उनी रुपन्देही, गुल्मी वा स्याङ्जामध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। खगेन्द्र सुनार र लक्ष्मण थारु पनि प्रत्यक्ष चुनावको तयारीमा छन्।
कञ्चनपुरमा बालेनका तर्फबाट धिरज जोशी र रवि लामिछानेका तर्फबाट दीपक बोहोराले उम्मेदवारी दिने तयारी गरेका छन्। दुवै कञ्चनपुर–३ का भएकाले क्षेत्र व्यवस्थापनमा चुनौती देखिएको छ।
जोशीले कञ्चनपुर–३ नछाड्ने बताएपछि बालेनले रविसँग छलफल गर्न आग्रह गरेका छन्। जेनजी अगुवा नेतृ रक्षा बमले पनि कञ्चनपुरका कुनै एक क्षेत्रबाट चुनावी तयारी गर्न सक्ने बताइए पनि उनले औपचारिक धारणा सार्वजनिक गरेकी छैनन्।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उठ्ने तयारीमा छन् भने पूर्वएआइजी विश्वराज पोखरेल ओखलढुङ्गाबाट उम्मेदवारी दिने तयारीमा रहेको स्रोतले जनाएको छ।
रास्वपाको केन्द्रीय समिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको छ।
समितिलाई योग्य उम्मेदवार छनोट तथा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको छ। साथै पार्टी एकता तथा समायोजनलाई निष्कर्षमा पुर्याउन महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति पनि गठन गरिएको छ।
जेनजी विद्रोहलाई रास्वपाले अपनत्व लिन खोजेको भन्दै केही युवाहरू असन्तुष्ट देखिएका छन्। जेनजी अभियन्ता रक्षा बम, युजन राजभण्डारी, उपार्जन चाम्लिङलगायतका युवाहरू रास्वपाको एकता प्रक्रियामा सहभागी भएनन्। रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट एकतामा नजोडिएपछि उनीहरूले काँग्रेस महामन्त्री गगन थापासँग समेत छलफल गरेका थिए।
यसैबीच रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। पाँडे खस–आर्यतर्फ सातौँ नम्बरमा थिए।
सामाजिक सञ्जालमार्फत उनले बन्दसूचीमा रहिरहनु उपयुक्त नलागेकाले नाम फिर्ता लिएको बताएका छन्। यसअघि सचिन ढकाल, डा. त्रिशला गुरुङलगायतले पनि समानुपातिक उम्मेदवारी फिर्ता लिइसकेका छन्।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि कार्यविधि तयार हुँदैछ र आकाङ्क्षीहरूका लागि आवेदन खुलाइनेछ।
“पुस २५ गतेभित्र उम्मेदवार छनोट गर्ने हाम्रो तयारी छ। केही ढिला भए पनि यसपटक परिपक्व ढङ्गले अघि बढ्छौँ,” उनले भने। जनताको भरोसा जोगाउँदै स्वीकार्य र क्षमतावान् उम्मेदवार अघि सार्ने रास्वपाको अभियानमा आम नेपालीको साथ रहने विश्वास पार्टीले व्यक्त गरेको छ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया