तिहारमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने, उच्च हिमाली भू–भागमा हल्का वर्षा–हिमपातको सम्भावना

शनिबार, ०१ कार्तिक २०८२

काठमाडौं : यस वर्षको तिहार पर्वका क्रममा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने र केही स्थानमा फाटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले शनिबार साँझ जारी गरेको तिहार विशेष मौसम बुलेटिन अनुसार कात्तिक ३ देखि ६ गतेसम्मको अवधिमा अधिकांश ठाउँमा मौसम सफा रहनेछ भने उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहनेछ।

बुलेटिन अनुसार :

कात्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहनेछ। कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ।

कात्तिक ४ (औँसी) : देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोसी, गण्डकी र कर्णालीका पहाडी भू–भागमा फाटफुट वर्षाको सम्भावना छ।

कात्तिक ५ (गोवर्धन पूजा) : देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा मौसम सफा रहन्छ। कोसी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

कात्तिक ६ (भाइटीका) : कोसी र मधेस प्रदेशलगायत देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा/हिमपात हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार