अनमोलको साहसलाई महानगरको सम्मान, वीरेन्द्र सभागृह जोगाउँने युवाको जिम्मेवारीपन

शुक्रबार, १४ कार्तिक २०८२

विराटनगर: जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले विराटनगर तनावग्रस्त भइरहेका बेला एक युवाले देखाएको साहसिक कदमले शहरको गौरव—वीरेन्द्र सभागृहलाई जोगाएको छ।

आन्दोलनको भीडबीच सभागृहमा आगो लगाउने तयारी भइरहेका बेला २३ वर्षीय अनमोल लिम्बूले केही साथीहरूसहित अगाडि सरेर आगजनी रोक्न सफल भएका थिए। उनीहरूको तत्परता र जिम्मेवार भूमिकाकै कारण आज सभागृह सुरक्षित छ।

त्यसै साहसिक कार्यप्रति सम्मान प्रकट गर्दै विराटनगर महानगरपालिकाले अनमोललाई औपचारिक धन्यवाद दिएको छ। महानगरले अनमोललाई कार्यालयमा बोलाएर मेयर नागेश कोइराला, उप–मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालमार्फत खादा लगाइदिएर धन्यवाद जनाएको हो।

मेयर कोइरालाले भने, “अनमोलले नागरिक जिम्मेवारीको असाधारण उदाहरण पेश गरेका छन्। उनीजस्ता युवाको सक्रियताले शहरलाई बचाउँछ, समाजलाई दिशा दिन्छ।”

उनका अनुसार महानगरले आगामी विशेष अवसरमा अनमोललाई ‘साहसी नागरिक सम्मान’ गर्ने तयारी गरेको छ।

गत भदौ २४ गते विराटनगरका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा सभागृह पनि जोखिममा थियो। तर अनमोल र उनका केही साथीहरूको पहलले विराटनगरकै गौरव मानिने सभागृहलाई जोगाउन सफल भए।

नगर विकास कोषसँग ऋण लिएर करिब २३ करोड रूपैयाँमा पुनर्निर्माण गरिएको सभागृह दुई वर्षमा सम्पन्न भएको हो। हाल महानगरले सभागृहको भाडा आम्दानीबाट कोषको सावा र ब्याज भुक्तानी गर्दै आएको छ।

वि.सं. २०३० सालमा निर्माण भएको यो सभागृह पुनर्निर्माणपछि आधुनिक र आकर्षक बनेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार