 
                            विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल अन्तर्गतको रेवन्त–रुक्मणि स्मृति विराट क्यान्सर इन्स्टिच्युटले ऐतिहासिक उपलब्धि हात पारेको छ।
यो संस्थाले युरोपेली चिकित्सा क्यान्सर सङ्घ (European Society for Medical Oncology – ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित क्यान्सर केन्द्र बन्न सफल भएको हो।
गत अक्टोबर १७ देखि २१ तारिखसम्म जर्मनीको बर्लिनमा सम्पन्न विशेष समारोहमा विराट क्यान्सर इन्स्टिच्युटलाई “एकीकृत क्यान्सर उपचार र शान्तिकामी (प्यालिएटिभ) सेवामा उत्कृष्ट केन्द्र” का रूपमा सम्मानपत्र (अवार्ड) प्रदान गरिएको हो।
यस मान्यतासँगै इन्स्टिच्युटलाई सन् २०२६ देखि २०२८ सम्मका लागि ESMO द्वारा नियुक्त केन्द्र (Designated Centre) को रूपमा मान्यता प्रदान गरिएको छ।
ESMO द्वारा सञ्चालन हुँदै आएको यो मान्यता कार्यक्रम विश्वभरका क्यान्सर उपचार तथा शान्तिकामी सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले स्थापना गरिएको हो। तीन वर्षका लागि प्रदान गरिने यो मान्यता प्राप्त गर्न विराट क्यान्सर इन्स्टिच्युटले विश्वस्तरीय उपचार सेवा, करुणामय बिरामी हेरचाह र पेशागत मर्यादाप्रति अटल प्रतिबद्धता देखाएको प्रमाणित भएको संस्थाले बताएको छ ।

संस्थाले भनेको छ,
“यो उपलब्धि नेपालमा बहु-अनुशासनात्मक क्यान्सर उपचार र शान्तिकामी सेवाहरूको विकासमा ऐतिहासिक माइलस्टोन हो। यसले देशमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने हौसला प्रदान गरेको छ।”
यस उपलब्धिमा एसोसिएट प्रोफेसर, क्यान्सर विशेषज्ञ (मेडिकल ओन्कोलोजिस्ट तथा हेमाटोलोजिस्ट) डा. सुलभ सापकोटाको नेतृत्व र परिश्रम निर्णायक भएको इन्स्टिच्युटले जनाएको छ। उनको नेतृत्वमा काम गरिरहेको सम्पूर्ण ओन्कोलोजी टोलीले निरन्तर प्रयास र प्रतिबद्धता देखाएको भन्दै संस्थाले सबैलाई बधाई र आभार प्रकट गरेको छ।
यो अन्तर्राष्ट्रिय मान्यताले नेपालमा क्यान्सर उपचार, अनुसन्धान र शान्तिकामी सेवाको गुणस्तर अझ उकास्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य सेवा विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया