 
                            पाँचथर : न्युन चापीय प्रणाली र मोन्था चक्रवातको प्रभावका कारण तीन दिनदेखि निरन्तर जारी वर्षाले प्रभावित बनाएको मध्य पहाडी राजमार्गको पाँचथर खण्ड पुनः सञ्चालनमा आएको छ।
जिल्लाको याङवरक गाउँपालिका–३ स्थित रिजाल भीरमा खसेको ठूलो पहिरो पन्छाएपछि शुक्रबार साँझ साढे पाँच बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिष कर्णले जानकारी दिए।
उनका अनुसार बिहीबार रातिदेखि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आए पनि वर्षा अझै जारी रहँदा थप पहिरो खस्ने जोखिम कायमै रहेको छ।
तर, पाँचथरकै मिक्लाजुङ गाउँपालिका–७ ऐनेभिरमा गएको पहिरोका कारण राँके–रवि–भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ। माथिबाट खसेको ठुलो पहिरोले सडक पूरै ढाकेका कारण सवारी आवागमन ठप्प भएको हो।
यससँगै निरन्तरको वर्षाले जिल्लाका अन्य ग्रामीण सडकहरू समेत प्रभावित बनेका छन्। सडक अवरोधका कारण स्थानीयवासीले अत्यावश्यक सामान ओसारपसारमा कठिनाइ भोगिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय पाँचथरले निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरोको जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
प्रतिक्रिया