धनकुटामा निर्वाचन प्रचारमा २ गाडी र ४ ओटा घोडा प्रयोग गर्न पाइने

शनिबार, २४ माघ २०८२

धनकुटा । जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोगदेखि खर्च विवरणसम्मका विषयमा कानुनी व्यवस्था कडाइका साथ पालना गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा भएको निर्वाचन आचारसंहिता पालना तथा शान्ति सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले आचारसंहितासम्बन्धी प्रस्तुति राख्दै प्रचारमा सवारी प्रयोगको स्पष्ट सीमा तोकिएको जानकारी दिए।

उनका अनुसार स्वदेशी नम्बर प्लेट भएको र मुख्य निर्वाचन अधिकृतको अनुमतिमा मात्र दुई वटा गाडी प्रचारप्रसारमा प्रयोग गर्न पाइनेछ। गाडी पुग्न नसक्ने दुर्गम क्षेत्रमा भने अधिकतम चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

आचारसंहिताअनुसार धार्मिक रूपमा मतदाता सङ्गठित गर्न, राष्ट्रिय झण्डा प्रयोग गर्न तथा लाइक–भ्युज बढाउने नाममा मिथ्या सूचना फैलाउन नपाइने जनाइएको छ। सामाजिक सञ्जालमार्फत गलत सूचना फैलिएमा विद्युतीय कारोबार ऐनलगायत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यस्तै, कोणसभा तथा आमसभा लगायतका कार्यक्रममा भएको खर्च १५ दिनभित्र निर्वाचन आयोगमा विवरण बुझाउनुपर्ने छ। धनकुटामा प्रत्यक्षतर्फका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ र समानुपातिकतर्फका उम्मेदवारले २ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकिएको छ। २५ हजार रुपैयाँभन्दा माथिको आर्थिक कारोबार अनिवार्य रूपमा बैङ्कमार्फत गर्नुपर्ने व्यवस्था पनि छ।

तोकिएको आचारसंहिता गम्भीर रूपमा उल्लङ्घन गरेको पाइए जिल्ला आचारसंहिता अनुगमन समितिले एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्म कारबाही गर्न सक्ने जनाइएको छ।

कार्यक्रममा सहभागी दलका प्रतिनिधिले विभिन्न जिज्ञासा र गुनासा पनि राखेका थिए। एमालेका अर्जुन राईले प्रचार सामग्रीको कागजको तौल, रङ्ग र साइजबारे स्पष्टता माग गरे। नेकपाका ओमप्रकाश निरौलाले सहिदभूमि गाउँपालिकामा ब्ल्याङ्केट वितरण गरेर निर्वाचन प्रभावित पार्ने काम भइरहेको भन्दै रोक्न माग गरे। पाख्रीवासमा पाइप वितरण गरिएको भन्दै आम जनता पार्टीका प्रतिनिधिले गुनासो गरे। जसपा नेपालका डम्बरबहादुर कटुवालले आचारसंहिता पालनामा सबै प्रतिबद्ध हुनुपर्ने बताए भने माओवादीका विशाल सीले सामाजिक सञ्जालमा ‘नोट देऊ कि भोट देऊ’ जस्ता सामग्री पोस्ट गरिएकोप्रति असन्तुष्टि जनाए। स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले छथरजोरपाटीमा आचारसंहिता विपरीत करार कर्मचारी नियुक्ति गरिएको गुनासो गरेका थिए।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षलाई आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनले आग्रह गरेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार