काठमाडौँ : रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृति प्रक्रियामा ठुलो घोटाला सतहमा आएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलमाथि करोडौँ रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
उजुरी अनुसार अध्यक्ष श्रेष्ठले ७ करोड रुपैयाँ व्यक्तिगत रूपमा लिएका र थप २ करोड अन्य व्यक्तिलाई मिलाउने प्रयोजन राखेको आरोप छ। त्यस्तै, लुइँटेलले म्यारियट होटेलमा ५० लाख रुपैयाँ घुस लिएको दाबी उजुरीमा उल्लेख गरिएको छ। कुल ९ करोड ५० लाखभन्दा बढी रकम आइपिओ अनुमति दिलाउन चलखेल भएको आरोप छ।
उजुरीकर्ताले हिमालयन सेक्युरिटिजको कार्यालयमा सिसिटिभी फुटेज जफत गर्नुपर्ने माग समेत राखेका छन्। उच्च स्रोतका अनुसार अख्तियारले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।
अर्कोतर्फ, रिलायन्स स्पिनिङको वित्तीय प्रोजेक्सन रिपोर्टमा नाफा, उत्पादन क्षमता र बजार मागको आँकडा अत्यधिक मनगढन्ते देखाइएको उजुरी दर्ता भएको छ।
चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)मा दर्ता उजुरीमा एसएआर एसोसिएट्सका साझेदार अमन उप्रेतीविरुद्ध उद्योगको वास्तविक अवस्थाभन्दा बढी अनुमान प्रस्तुत गरेको आरोप छ।
विश्लेषकका अनुसार पुस्तीकरण (बुक बिल्डिङ) प्रक्रियामा उच्च मूल्याङ्कन, अत्यधिक बिड र अवास्तविक नाफा वृद्धिदरले नै शङ्का बढाएको थियो। कागजी नाफा, मनगढन्ते बजार माग र कम ब्याज खर्चका आँकडासँग जोडिएको विवादले नियामक तहमै दबाब सिर्जना गरेको र उजुरी मार्फत प्रकरण सार्वजनिक भएको हो।
प्रतिक्रिया