बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाले हालै भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोगस्वरूप एक लाख रुपैयाँ प्रदान गरिने जनाएको हो।
बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गाउँपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।
प्रतिक्रिया