धनकुटा : मकैको गुणस्तरीय उत्पादन वृद्धि गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले किसानलाई मकैको बीउ वितरण गर्ने भएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाले किसान, कृषक समूह तथा कृषि सहकारी संस्थालाई मकैको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।
खेतीयोग्य जमिनमा उन्नत बीउको प्रयोग बढाउँदै उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राइले जानकारी दिए।
उनका अनुसार बीउ वितरणका लागि किसानको संख्या र कोटा तोकिएको छैन। कार्यक्रममा सहभागी किसानलाई मनकामना–३ र रामपुर कम्पोजिट जातको मकैको मूल तथा उन्नत बीउ उपलब्ध गराइनेछ।
बीउको मूल्य प्रतिकेजी ११० देखि १३० रुपैयाँसम्म तोकिएको छ। कुल मूल्यको ५० प्रतिशत रकम नगरपालिकाले अनुदानस्वरूप व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत किसानले आफैं व्यहोर्नुपर्नेछ।
नगरपालिकाले यस कार्यक्रमले स्थानीय किसानको उत्पादन लागत घटाउनुका साथै मकै उत्पादन र उत्पादकत्व वृद्धि गर्न टेवा पुग्ने विश्वास लिएको छ।
प्रतिक्रिया