भारतका पूर्व गृहमन्त्री पाटिलको ९१ वर्षको उमेरमा निधन

शुक्रबार, २६ मंसिर २०८२

दिल्ली । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको ९१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका पाटिलले शुक्रबार बिहान करिब ६:३० बजे महाराष्ट्रको लातूरस्थित आफ्नै निवासमा अन्तिम श्वास लिएको पीटीआई समाचार एजेन्सीले परिवारलाई उद्धृत गर्दै जनाएको छ।

महाराष्ट्रबाट राजनीतिमा सक्रिय पाटिलले आफ्नो सार्वजनिक जीवनमा विभिन्न प्रतिष्ठित पदहरूमा रहेर देशको संवैधानिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी सात पटक सांसद रहिसकेका छन् र गृहमन्त्री, लोकसभाका सभामुख (अध्यक्ष), पञ्जाबका राज्यपाल तथा केन्द्रीय मन्त्री लगायतका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए। उनी विशेषगरी सन् २००८ को मुम्बई आक्रमणको समयमा भारतका गृहमन्त्रीको रूपमा कार्यरत थिए।

पाटिलको निधनमा भारतीय राजनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शिवराज पाटिलको निधनले आफू गहिरो दुःखी भएको बताएका छन्। उनले पाटिललाई एक अनुभवी नेताको रूपमा स्मरण गर्दै सामाजिक कल्याणमा उनको योगदानको प्रशंसा गरेका छन्।

लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस नेता राहुल गान्धीले पाटिलको निधनलाई पार्टीका लागि अपूरणीय क्षति बताएका छन्। उनले सार्वजनिक सेवाप्रतिको पाटिलको समर्पणलाई सधैँ सम्झिने बताएका छन्। कांग्रेस नेतृ प्रियंका गान्धीले पनि पाटिलले रक्षा मन्त्रालयसहित धेरै महत्त्वपूर्ण विभागको जिम्मेवारी सम्हालेर दशकौँसम्म जनताको सेवा गरेको उल्लेख गरेकी छिन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे, महाराष्ट्र विधानसभाका अध्यक्ष राहुल नार्वेकर र अन्य वरिष्ठ नेताहरूले पनि शिवराज पाटिललाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार