सिटिजन लाइफ इन्स्योरेन्सले मनायाे आठौं वार्षिकोत्सव

मंगलबार, ०४ कार्तिक २०८२

काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमहरूका साथ मनाएको छ।

विविधता र समावेशीकरण दिवस’ लाई वार्षिकोत्सवको मुख्य विषयका रूपमा लिएर मनाइएको यस वर्षको उत्सवले सिटिजन परिवारभित्रको सहअस्तित्व, सांस्कृतिक समृद्धि र परस्पर सम्मानको सन्देश प्रवाह गरेको कम्पनीले जनाएको छ।

citizen life

सामाजिक उत्तरदायित्वमा सक्रिय सिटिजन

वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्‍याली तथा घरघरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, एक स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र सात स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डेका अनुसार,“सिटिजन लाइफले आफ्नो स्थापना कालदेखि नै बीमा सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि बराबर प्राथमिकतामा राख्दै आएको छ। हामी समाजसँग नजिक भएर सकारात्मक प्रभाव पार्न विश्वास गर्छौँ।”

स्थापना र व्यावसायिक यात्रा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ असार १२ गते पब्लिक कम्पनीका रूपमा दर्ता भएको हो।

बीमा ऐन तथा बीमा विनियमावलीअनुसार २०७४ भदौ ७ गते नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कारोबारको इजाजतपत्र प्राप्त गरी सोही वर्ष कात्तिक २ गतेदेखि बीमा सेवा सञ्चालन सुरु गरेको थियो।

कम्पनीका संस्थापकहरू बैंकिङ, बीमा, जलविद्युत, पर्यटन, कृषि, उद्योग तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्वहरू हुन्। आठ वर्षको यात्रामा कम्पनीले पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चुनौतीबिच पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

विस्तार, वृद्धि र उपलब्धि

हाल सिटिजन लाइफले देशभर १३५ शाखा तथा उपशाखा कार्यालयमार्फत १० भन्दा बढी जीवन बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा ६.७ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ।
कम्पनीको जीवन बीमा कोष २० अर्ब रुपैयाँ नाघिसकेको छ।

कम्पनीले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन सफल हुँदै मर्जरको बाटो नलिई आफ्नै बलबुतामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ। दीर्घकालीन दायित्व पूरा गर्न कम्पनीले लगानीलाई विविधिकृत गर्दै स्थायित्वमा जोड दिएको छ।

आर्थिक परिस्थिति र बीमा क्षेत्रका चुनौती

देशको आर्थिक तथा वित्तीय असन्तुलनबिच पनि कम्पनीले आफ्नो व्यवसाय स्थायित्व कायम राख्न सफल भएको जनाएको छ।
उच्च मुद्रास्फीति, तरलता असन्तुलन, ब्याजदरको उतारचढाव र लगानी जोखिमबिच जीवन बीमाको आवश्यकता र औचित्यबारे जनचेतना फैलाउनु आजको प्रमुख चुनौती रहेको कम्पनीको भनाइ छ।

दक्षता विकास र क्रेडिट रेटिङ

सिटिजन लाइफले आफ्ना कर्मचारी र अभिकर्तालाई स्वदेशी तथा विदेशी तालिममार्फत दक्ष बनाउन निरन्तर तालिम, गोष्ठी र कार्यशाला सञ्चालन गर्दै आएको छ।
कम्पनीले ICRA नेपाल लिमिटेडबाट “[ICRANP-IR] BBB” क्रेडिट रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

अभिकर्ता : कम्पनीको मेरुदण्ड

देशभर करिब ३० हजार “सिटिजन लिडर” अभिकर्ताको सञ्जालमार्फत कम्पनीले आफ्नो व्यावसायिक विस्तारलाई गति दिएको छ।

बीमा अभिकर्ताको पेसागत विकासका लागि कम्पनीले निरन्तर तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गर्दै व्यावसायिक अभिकर्ता नेटवर्क निर्माणमा जोड दिइरहेको छ।

भविष्यका योजना र प्रतिबद्धता

प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका अनुसार, कम्पनीले आगामी वर्षहरूमा बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउन डिजिटलाइजेसनलाई प्राथमिकतादक्ष जनशक्ति विकासअभिकर्ता सञ्जाल विस्तार, र ग्राहक सेवा सुधारमा विशेष ध्यान दिने योजना अघि सारेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले आठ वर्षको यात्रामा देखाएको सामाजिक उत्तरदायित्व, पारदर्शिता र व्यावसायिक अनुशासनका कारण नेपाली जीवन बीमा क्षेत्रमा आफूलाई विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार