जेन-जी आन्दोलन अमेरिकाको समर्थनमा भएको अमेरिकी मिडियाकै दाबी

मंगलबार, ०१ पुस २०८२

काठमाडौं । अमेरिकी मिडिया ग्रेजोनले अमेरिकी सरकारका लिक भएका दस्तावेजको अध्ययन र विश्लेषण गरेर तयार पारेको रिपोर्टअनुसार अमेरिकी सरकारले हालै नेपालमा भएको ‘सत्ता परिवर्तन’को नेतृत्व गर्ने जेन-जी कार्यकर्ताहरूलाई वित्तीय सहयोग र तालिम दिएको थियो।

अमेरिकी नेशनल इन्डाउनमेन्ट फर डेमोक्रेसी (एनइडी) ले युवा नेपालीहरूलाई अमेरिकी हितलाई समर्थन गर्ने महत्वपूर्ण शक्ति बनाउन लाखौँ डलर खर्च गरेको रिपोर्टमा दाबी गरिएको छ ।

ग्रेजोनको रिपोर्ट यदि सत्य हो भने यो अमेरिकी नव-औपनिवेशिकताको स्पष्ट उदाहरण हो। यद्यपी यो समाचार संस्था दक्षिणपन्थी मानिन्छ र यसमाथि रूसी वा चिनियाँ प्रोपागाणडालाई प्रवर्द्धन गरेको आरोप पनि लागेको छ ।

ग्रेजोनले देखेको दाबी गरेका एनइडीका लिक भएका कागजातअनुसार उक्त संस्थाले नेपाली कार्यकर्ताहरूलाई प्रदर्शन र आन्दोलन आयोजनाका रणनीति तथा सीपहरूमा तालिम दिन लाखौँ डलर खर्च गरेको थियो।

विशेष रूपमा इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआइ) ले नेपाली कार्यकर्ताहरू र राजनीतिक नेताहरूको सञ्जाल बनाउन खोजेको थियो। आइआरआइ एनइडीको एक शाखाहो । कार्यकर्ताहरूले आइआरआइद्वारा चयन गरिएका मुद्दाहरूमा ध्यान केन्द्रित गरून् भन्ने उसको चाहना थियो, जसले अमेरिकी चिन्ता समाधान हुने अपेक्षा गरिएको थियो।

आइआरआइले नेपाललाई भारत र चीनसँगको सम्बन्धमा “रणनीतिक भौगोलिक स्थान” भएको ठानेको थियो। यसले चीनको प्रभाव सीमित गर्ने अमेरिकी लक्ष्य हासिल गर्नका लागि नेपाललाई “मुख्य सम्पत्ति” मानेको थियो।

आइआरआइका कार्यक्रममध्ये एक ‘युवा नेतृत्व: पारदर्शी नीति’ थियो। यसमा ६०–७० जना नेपाली युवा सहभागी भएका थिए । यसको लागत ३ लाख ५० हजार डलर थियो र यो जुलाई २०२१ देखि एक वर्षसम्म सञ्चालन भयो। यसको उद्देश्य उदाउँदा नेताहरूलाई युवा आन्दोलनमा गति दिने र नेपाली राजनीतिक निर्णयकर्तामाथि दबाब सिर्जना गर्ने अवसर बढाउनु थियो।

ग्रेजोनले रिपोर्ट गरेअनुसार आइआरआइले इमर्जिङ लिडर्स एकेडेमीलाई पनि समर्थन गरेको थियो, जसले युवा नागरिक कार्यकर्ताहरू र राजनीतिक नेताहरूलाई एकत्रित गरी उनीहरूलाई सीप, प्लेटफर्म र स्रोतहरू उपलब्ध गराउने उद्देश्य राखेको थियो।

आइआरआइले युथ इम्पावरमेन्ट वर्कशप्सका लागि तालिम पुस्तिका पनि तयार गरेको दाबी गरिको छ, जसले राजनीतिक रूपमा संलग्न वा असंलग्न व्यक्तिहरूलाई एकत्रित गरी सकारात्मक परिवर्तन ल्याउने क्षमता र नेतृत्व गुण विकास गर्ने लक्ष्य राखेको थियो।

अमेरिकाले विगतमा पनि भेनेजुएला, ग्वाटेमाला, इरान, हाइटी, होन्डुरस, कङ्गो, भियतनाम, क्युबा जस्ता देशहरूमा शासन परिवर्तनमा प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेप हरेको कुरा धेरै रिपोर्टमा खुलासा भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार