मोरङ लेटाङकी १३ वर्षीया अंशु १० दिनदेखि बेपत्ता : न साथीकहाँ पुगिन्, न घर फर्किइन्

विहीबार, ३० असोज २०८२

मोरङ (लेटाङ) : “साथीको घर जान्छु आमा,” भनेर हिजोजस्तै हाँसी खुसी घरबाट निस्केकी १३ वर्षीया अंशु गौतम १० दिनदेखि बेपत्ता छिन्।

अहिले उनको घरको आँगन मौन छ । दशैंको रौनकमा डुबिरहेको गाउँमा अहिले चाडको खुसी होइन, चिन्ताको बादल मात्र छाएको छ।

मोरङको लेटाङ नगरपालिका–२ फडानीकी अंशु स्थानिय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्दै आएकी थिइन्।

गत असोज २१ गते दिउँसो ४ बजेतिर उनले “साथी भेट्न जाँदै छु” भनेर घरबाट निस्किएकी थिइन्। तर त्यसपछि न त उनी साथीको घर पुगिन्, न त घर फर्किइन्।

अंशुकी आमा बिना गौतम छोरीको सम्झनामा भक्कानिँदै रुन थाल्छिन् । उनले भनिन्, “अंशु कहिल्यै घरबाट टाढा जाँदिन थिई। साँझ भए पनि टेलिभिजन हेर्दै घरमै बस्ने गर्थी। त्यो दिन मात्रै किन त्यस्तो भयो, हामीलाई थाहा छैन।

अब डर लागेको छ, कतै कसैले लुकाएको त होइन?” दुई छोरीमध्ये कान्छी भएकी अंशु हराएपछि घरको वातावरण सुनसान बनेको छ।

दशैं तिहारका बेला चाडबाड मनाएर रमाइलो गर्ने समयमा गौतम परिवार यतिखेर दिन-दिनै छोरीको खोजीमा कहिले कता त कहिले कता भौँतारिन बाध्य बनेको छ । चाडबाडको माहौल उनीहरूको लागि दुःखको समय बनेको छ।

यता इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार अंशुको खोजीका लागि नेपाल प्रहरी सहित नेपाली सेना र स्थानीयवासी सबै जुटेका छन्।

रेग्मीले भने, “विद्यालय परिसर, आसपासका जङ्गल, नदी किनारा र सम्भावित ठाउँहरूमा खोजी गरेका छौँ। सिसिटिभी फुटेज पनि हेरेका छौँ, तर अहिलेसम्म कुनै सुराग फेला परेको छैन।” हामी आफै छक्क परेका छौ यत्रो खोजिसक्यौ कहीँ पत्ता लागेको छैन उनले भने ।

लेटाङ प्रहरीले बुधबारे चौकीदेखि फडानी आसपाससम्म खोजी विस्तार गरेको छ।

सम्भावित अपहरण वा नियोजित हराइको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि अहिलेसम्म कुनै ठोस प्रमाण फेला परेको छैन।

परिवारले विद्यालय र घरनजिकका सिसिटिभी फुटेजहरू समेत हेरेका छन्, तर कुनै दृश्यमा अंशु देखिएकी छैनन्। यसले घटनालाई झन् रहस्यमय बनाएको छ। “सिसिटिभीमा पनि नदेखिँदा मन झन् डरले काँप्छ,” आमा बिनाको स्वर काँप्छ।

लेटाङको फडानी टोलमा अहिले एउटै कुरा चल्छ—“अंशु भेटिई कि?” बिहानदेखि बेलुकीसम्म गाउँलेहरू कुनै सुराग भेटिन्छ कि भनेर वरिपरि खोजी गरिरहेका छन्। विद्यालयमा उनका साथीहरूले पनि खोजीमा साथ दिएका छन्।

विद्यालयका शिक्षकहरू भन्छन्, “अंशु पढाइमा राम्रो थिई, हरेक कार्यक्रममा सक्रिय हुन्थी। यस्तो घटना हुँदा हामी सबै स्तब्ध छौँ।”

प्रहरीले पनि नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ। “यदि कसैले अंशुलाई देख्नुभयो वा उनको अवस्थाबारे केही जानकारी छ भने तुरुन्त नजिकको प्रहरी कार्यालयमा खबर दिनुहोस्,” निरीक्षक रेग्मीको भनाइ छ।

अंशु बेपत्ता भएको आज दसौँ दिन बितिसक्दा पनि कुनै सुराग नपाइँदा घटनाले रहस्य गहिरिँदै गएको छ। अपहरण, पारिवारिक मतभेद वा अन्य कारण के हो भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार