काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले सुनुवाइ गर्दै विशेष अदालतले थुनामै पठाउने गरी गरेको आदेशलाई सदर गरेको हो ।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध अधिकारीले बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कानुन बमोजिम गर्नू भन्ने आदेश दिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालले महानिर्देशक अधिकारीसहित ६ जना व्यक्ति र एउटा कम्पनीविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
प्रतिक्रिया