जेन–जी आन्दोलनको आवरणमा अपराध : नेविसंघद्वारा बालेन र रविलाई कारबाही गर्न माग

विहीबार, ३० असोज २०८२

काठमाडौँ : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ।

बिहीबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहितको प्रतिनिधिमण्डलले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङलाई भेटी मागपत्र बुझाएको हो। मागपत्रमा जेन–जी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको आन्दोलनमा शहादत प्राप्त विद्यार्थीप्रति उच्च सम्मान जनाउँदै आन्दोलनको भावना संरक्षण गर्न आग्रह गरिएको छ।

नेविसंघले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमणमा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

त्यस्तै, जेन–जी आन्दोलनका क्रममा भएका अमानवीय घटना र सार्वजनिक सम्पत्तिमा भएको क्षतिबारे पनि छानबिनको माग गरिएको छ। मागपत्रमा काठमाडौँ महानगरका मेयर बालेन र रास्वपाका सभापति रविसहितका नेताहरूको नाम स्पष्ट रूपमा उल्लेख गर्दै उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

मागपत्रमा भनिएको छ, “जेन–जी आन्दोलनको आवरणमा सुनियोजित रूपमा देशका विभिन्न जेल, कारागार र बन्दीगृहमा आगजनी गर्ने, कैदी–बन्दी भगाउने र सरकारी कागजात नष्ट गर्ने जस्ता जघन्य अपराधमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू डिपी अर्याल, मनिष झा, हरि ढकाल, ज्वाला सङ्ग्रौला लगायतका व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउन माग गर्दछौँ।”

त्यस्तै, भदौ २४ गतेका हिंसात्मक घटनालाई भड्काउने र भिडलाई उत्तेजित बनाउने गरी टिप्पणी गरेको आरोपमा मेयर बालेन्द्र साहलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ। मागपत्रमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट मिथ्या सूचना तथा भ्रामक प्रचार फैलाउनेहरू विरुद्ध पनि कारबाहीको माग गरिएको छ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि काठमाडौँ महानगरका मेयर बालेनविरुद्ध देशव्यापी रूपमा जाहेरी दर्ता गर्ने अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार