सहारा नेपाल सहकारीको २५ अर्ब वासलातको लक्ष्य

मंगलबार, ०१ पुस २०८२

झापा,:  सहारा नेपाल (साकोस) लिमिटेडको २९ औँ वार्षिक साधारण सभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।  संस्थाले आफ्नो वित्तीय अवस्था सुदृढ बनाउँदै आगामी तीन वर्षभित्र २५ अर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य तय गरेको छ ।
साधारणसभामा संस्थाका ७ वटा एकाइ अन्तर्गत ८६ स्थानमा आयोजित उप–एकाइ भेलाबाट प्रतिनिधिमूलक ढंगले सदस्यहरू सहभागी भएका थिए वार्षिक साधारण सभा आयोजना गरिएको हो । वार्षिक साधारण सभामा चालु आर्थिक वर्षको आषाढ मसान्तसम्म १ लाख ९२ हजार २ सय ४० शेयर सदस्य संस्थामा आबद्ध रहेको जानकारी गराइयो । सदस्यहरूको सहजताका लागि संस्थाले ८० सेवा केन्द्र संचालन गर्दै आएको र  हाल संस्थाको शेयर पुँजी १ अर्ब ६९ करोड ७५ लाख, जगेडा कोष १ अर्ब ३२ करोड ६८ लाख, बचत संकलन १४ अर्ब १५ करोड ७६ लाख, लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख र कुल वासलात १८ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पुगेको सहकारीका प्रमुख कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीले जानकारी दिए । 


राजनीतिक अस्थिरता र सामाजिक मनोबलमा गिरावटका बाबजुद पनि संस्थाले चालु आर्थिक वर्षमा ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ । सदस्यहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि एग्री–बिजनेस युनिट स्थापना गरी सेवा प्रदान गरिने योजना छ । यसैगरी, वातावरणमैत्री तथा शून्य कार्बन उत्सर्जन लक्ष्यसहितका कार्यक्रम पनि कार्यान्वयन गर्ने समेत साधारण सभामा जानाकारी गराइयो । 

युवाहरूलाई संस्थामा आबद्ध गराउँदै उद्यमसँग जोड्न स्टार्ट–अप कोष मार्फत सहुलियत कर्जा उपलब्ध गराइनेछ भने लोकसेवा परीक्षा तयारी कक्षासमेत सञ्चालन गरिने र प्रविधिमैत्री सेवाको दायरामा सहारा स्मार्ट एप्स, क्यूआर, एटिएम, एस.एम.एस सेवासँगै यस वर्षदेखि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्ने योजना बनाइएको समेत सो अवसरमा जनाइयो । 

संस्थाले भौतिक पूर्वाधार विकासका लागि बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा शैक्षिक तालिम केन्द्र र शिव–शताक्षीको दोमुखामा कृषि स्रोत केन्द्र निर्माण कार्य थालनी गर्ने बताएको छ । सहारा नेपाल (साकोस) का अध्यक्ष हरिबहादुर राजबंशीले आगामी वर्ष सेयर सदस्य सहित सेयर पुँजी अझ वढाउने लक्ष्य राखिएको जानकारी गराएका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार