ललितपुर : नेपाली कांग्रेस खोटाङका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले पार्टीलाई ‘हरित बाटो’ तय गरेर अगाडि बढ्न अपिल गरेका छन् ।
आज कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै पठाएको अपिल पत्रमा कांग्रेसले बिपीको विचार, हरित नीति र आत्मनिर्भर अर्थतन्त्रलाई आफ्नो नयाँ बाटोका रूपमा घोषणा गर्न आग्रह गरे ।
उपसभापति भट्टराईले भनेका छन्,“हाम्रो देश अहिले राजनीतिक, आर्थिक र वातावरणीय सङ्कटको जटिल मोडमा छ । यस्तो अवस्थामा कांग्रेसले गाउँ, स्वरोजगार र स्थानीय स्रोतमा आधारित हरित अर्थतन्त्रको नीति अवलम्बन गर्नैपर्छ ।”
उनले आफूले गत साउनमा माइतीघर मण्डलामा आमरण अनशन बसेर बाँस, स्थानीय स्रोत र हरित नीतिसम्बन्धी सात बुँदे माग अघि सारेको र त्यसको कार्यान्वयन अझै नभएको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा सहजीकरण आवश्यक रहेको उल्लेख गरे ।
भट्टराईले पार्टी नेतृत्वलाई केन्द्रीय कार्यालयको पुनःनिर्माणमा बाँस, काठ र रैथाने स्रोतको प्रयोग गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया