जेनजी आन्दोलनमा प्रहरीको हत्या गर्ने दुई अभियुक्तमाथि बाँचुञ्जेल कैद माग गर्दै मुद्दा दर्ता

शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा प्रहरी जवानको हत्या आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार उनीहरूलाई कर्तव्य ज्यानसहितको कसुरमा अभियुक्त बनाएको हो।

काभ्रेपलान्चोक–रोशी गाउँपालिका–९ का २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर–थाहा नगरपालिका–७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) विरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरू महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत २८ वर्षीय जवान उत्तम थापाको हत्या गरेको आरोपमा संलग्न ठहरिएका छन्।

जवान थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ २४ गते ड्युटीमा खटिएका उनलाई जेनजी आन्दोलनकारीहरूले प्रहरी कार्यालयको पछाडि लगेर क्रूर तरिकाले आक्रमण गरी हत्या गरेका थिए।

हत्यापश्चात् प्रदर्शनकारीहरूले उनको शव सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगन्जमा लगेको थियो।

मृतकका काकाले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान भई तुरुन्तै दुई जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। आरोपितहरूले प्रहरीसमक्ष बयानमा आफ्ना अपराध स्वीकार गरेका छन्।

युवराज क्याप्छाकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उसले प्रहरी कार्यालयमा तोडफोड, आगजनी, हिरासतमा रहेका थुनुवालाई भगाउने, प्रहरीलाई फलामको रड, लाठी, चक्कु, खुकुरी जस्ता वस्तुले आक्रमण गरेको बयान दिएको छ।

बुद्धिलाल थिङ टोखामा रहेको ब्रदर्स रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उसले पनि प्रहरीलाई कुटपिट गरी हत्या गरेको स्वीकारेको छ। प्रहरीको भिडिओ प्रमाणका आधारमा उनीहरू पक्राउ परेका थिए।

सरकारी वकिल कार्यालयले उनीहरूलाई ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ कारबाही गर्न माग गरेको छ। पीडित परिवारलाई क्षतिपूर्ति दिने माग पनि छ।

जेनजी आन्दोलनमा जवान उत्तम थापासँगै सहायक हवलदार अमृत गुरुङ र प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या भएको थियो। आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, आगजनी र कैदी भाग्ने क्रममा ७३ जना थप मृत्युवरण गरेका थिए।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार