कांग्रेसमा उम्मेद्वार सिफारिसः तेह्रथुममा गगनको एकल इन्ट्री, पाँचथरमा आकांक्षीको लाम

मंगलबार, ०१ पुस २०८२

पाँचथर : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएसँगै पूर्वी नेपालका दुई जिल्लामा फरक–फरक दृश्य देखिएका छन् । तेह्रथुममा सहमति जुटाउन नसकेपछि महामन्त्री गगनकुमार थापाको एकल नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ भने पाँचथरमा भने आकांक्षीहरूको ठूलो भीड लागेको छ, जहाँ ८ जनाको नाम केन्द्रमा पठाइएको छ ।

तेह्रथुमको ‘ट्रिक’: विवाद टार्न थापा सिफारिस
कांग्रेस तेह्रथुमले प्रतिनिधिसभा सदस्यमा महामन्त्री गगनकुमार थापाको मात्रै नाम सिफारिस गरेको हो । निवर्तमान सांसद सिता गुरुङ र नेता तुलसी शुब्बासहित चार जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि उनीहरूबीच सहमति नजुट्दा अन्ततः महामन्त्री थापाको नाम सिफारिस गर्ने निर्णयमा पुगिएको जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले जानकारी दिएका हुन् ।

यसअघि, २०७९ सालको चुनावमा सिता गुरुङमाथि अन्तरघात गरेको भन्दै पार्टीको कारबाहीमा परेका नेता तुलसी शुब्बाले पनि यसपटक उम्मेदवारीमा दाबी प्रस्तुत गरेका थिए । आकांक्षीहरूबीचको विवादलाई छल्न र केन्द्रको ध्यान खिच्नका लागि थापाको नाम सिफारिस गरिएको विश्लेषण गरिएको छ ।

पाँचथरमा ‘शक्तिको खेल’: ८ जनाको नाम 
यता, पाँचथरबाट भने कांग्रेसले प्रतिनिधि सभा, राष्ट्रिय सभा र समानुपातिक तर्फका आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ । एकल नाम सिफारिस गर्ने प्रयास असफल भएपछि जिल्लाले सबै आकांक्षीको नाम पठाएको जनाएको छ ।

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सह महामन्त्री भिष्मराज आङदेम्बे प्रमुख दावेदारसहित ८ जनाको नाम सिफारिस गरिएको छ । आङदेम्बेबाहेक निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, वर्तमान सभापति रुपनारायण जवेगू, तुम्वेवा गाउँपालिकाका पूर्व अध्यक्ष होम थापा, महाधिवेशन प्रतिनिधि कौशिला गुरुङ, पूर्व उप सभापति जयप्रसाद रिजाल, युवा नेता धर्मेन्द्र विक्रम नेम्वाङ र सूर्य नेम्वाङको नाम पनि सूचीमा समावेश छ ।

राष्ट्रिय सभाका लागि चन्द्रकुमार आङदेम्बे, निरवहादुर धमला(बिमल), सुरेन्द्रकुमार तिम्सिना र सुरेन्द्रकुमार दाहालको नाम सिफारिस भएको छ । यस्तै, प्रतिनिधि सभाको समानुपातिकतर्फ शान्ता बाँस्कोटा, जनिमाया थापा मगर, तेजमाया सुहाङ, मधु जवेगू, गंगामाया थेगिम, देवीप्रसाद काफ्ले, बिमला सुब्बा र डिबि गुरुङको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार