निजी मेडिकल कलेजमा नर्समाथि श्रमशोषण : सरकारीसरह तलब दिन अटेरी

के भन्छन् मेडिकल कलेजका सञ्चालक ?

शुक्रबार, ३१ असोज २०८२

पोखरा/काठमाडौँ : सरकारीसरह तलब नपाएको भन्दै पोखराका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा उत्रिएपछि निजी मेडिकल कलेजमा नर्समाथिको श्रमशोषण देशभर सार्वजनिक चर्चाको विषय बनेको छ ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीले नर्सहरूको समस्या समाधान गर्न र सरकारीसरह तलब सुनिश्चित गर्न स्वास्थ्यसचिव डा. विकास देवकोटाको नेतृत्वमा टिमलाई बालुवाटार बोलाएर निर्देशन दिइन्। तर, निजी मेडिकल कलेजहरूले भने सरकारले तोकेको तलब दिन नसक्ने भन्दै अटेरी गरेका छन् ।

प्रधानमन्त्री कार्कीले सचिव देवकोटासँग नर्सहरूको मागबारे जानकारी लिँदै भनेकी छिन्, “निजी मेडिकल कलेजमा तलब कम छ, यसलाई समाधान गर्नुपर्छ। नर्स तथा अन्य स्वास्थ्यकर्मीको सम्मानजनक अवस्था सिर्जना गर्नुपर्छ।

स्वास्थ्य जनशक्ति विदेश पलायन भइरहेका छन्। निजी संस्थामा पनि सरकारीसरह तलब सुनिश्चित गर्नुहोला।” उनले सरकारी स्वास्थ्य संस्थामा रिक्त पदहरूमा नियुक्ति गर्दा सिनियर कर्मचारीको अपमान नहोस् र पालो नमिची जिम्मेवार नियुक्ति हुनुपर्ने निर्देशन दिइन्।

स्वास्थ्य मन्त्रालयले २७ मङ्सिर ०८१ मा सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई सरकारीसरह तलब सुविधा दिन परिपत्र गरेको थियो। कार्यान्वयन नभएपछि २६ असोजमा पुनः परिपत्र गरे पनि निजी मेडिकल कलेजहरूले सरकारी निर्देशन पालना नगरी चुनौती दिइरहेका छन्।

नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले भने, “सरकारले दिएजति तलब हामी दिन सक्दैनौँ।

निजी र सरकारी मेडिकल कलेज सञ्चालन तरिका फरक छ। सरकारीमा सरकारले नै व्यहोर्छ, निजीमा गाह्रो हुन्छ।” उनले चार दिनअघि नै विज्ञप्ति निकालेर सरकारीसरह तलब नदिने चेतावनी दिएका थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “निजी मेडिकल कलेजले नर्स मात्र होइन, अन्य स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह तलब दिन मानेको छैन। सरकारी पाँचौँ र छैटौँ तहका नर्सलाई ३४ हजार तलब दिइन्छ, तर निजीमा १९ हजारभन्दा कम पाइन्छ।”

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिराकुमारी निरौलाले भने, “हामीले पत्राचार गरेरै निजी मेडिकल कलेजलाई सरकारीसरह तलब दिन भनेका छौँ। तर, उनीहरू अटेरी गरिरहेका छन्।”

नेपाल नर्सिङ एसोसिएसनकी महासचिव देवकाकुमारी आचार्यले देशभरका निजी अस्पतालले नर्समाथि आर्थिक शोषण गरेको भन्दै तिहारपछि आन्दोलन चर्काउने चेतावनी दिइन्। “समस्या देशव्यापी छ। अब सबै निजी मेडिकल कलेज तथा अस्पतालले सरकारीसरह तलब सुनिश्चित गर्न दबाब दिनेछौँ,” उनले भनिन्।

सरकारी अस्पतालका नर्सहरूले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन थालेका छन्। त्रिवि शिक्षण अस्पतालका नर्सहरूले बिहीबार बिहान अस्पताल परिसरमा धर्ना दिँदै निजी अस्पतालले नर्समाथि श्रमशोषण गरेको भन्दै न्याय मागेका छन्।

सुदूरपश्चिम क्षेत्रका नर्सहरू पनि आन्दोलनमा उत्रिएका छन्। कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना दिँदै उनले निजी अस्पतालले स्वास्थ्यकर्मीलाई धम्की नदिनु, पारिश्रमिक दिनु, बिदा र दसैँभत्ता सुनिश्चित गर्नु जस्ता माग राखेका छन्। धनगढीका दर्जनौँ निजी मेडिकल कलेजमा नर्समाथि समान श्रमशोषणको अवस्था रहेको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार