विराटनगर : नेपाल राष्ट्र बैंकका पूर्व–गर्भनर महाप्रसाद अधिकारीले पछिल्ला अढाई वर्षदेखि लागू भएको लचिलो मौद्रिक नीतिले व्यवसायीलाई ठूलो राहत दिएको दाबी गरेका छन्।
विराटनगरमा सिएनवाईईएफ (CNIYEF) कोशी प्रदेश समितिद्वारा आयोजित “मिट एन्ड ग्रिट” कार्यक्रममा बोल्दै उनले अहिलेको मौद्रिक वातावरणलाई व्यवसाय विस्तारका लागि सर्वाधिक उपयुक्त समय रहेको बताए।
अधिकारीका अनुसार राष्ट्र बैंकले हालका वर्षहरूमा अपनाएको नीतिले तरलता सहज बनाउने, बैंक–वित्तीय संस्थालाई कर्जा प्रवाह बढाउन उत्प्रेरित गर्ने, ब्याजदर स्थिर राख्ने जस्ता कदमका कारण बजारमा सकारात्मक माहौल बनेको छ।
“सधैँ ‘मन्दी’ भनेर रोइरहनुपर्ने अवस्था छैन। अहिलेको परिस्थिति अर्थतन्त्रको प्राकृतिक उतार–चढाव मात्र हो, अवसर पहिचान गर्न सकिने अवस्था बनेको छ,” उनले भने।
उनका अनुसार ब्याजदरदेखि कर्जा उपलब्धतासम्म सबै पक्षमा सुधार आएपछि युवा उद्यमीले लगानीका लागि ढुक्कसँग अघि बढ्न सकिने वातावरण बनेको छ।
पूर्व–गर्भनरका अनुसार नीतिगत दर ४.५०% बाट ४.२५% मा झर्नु र स्ट्यान्डिङ डिपोजिट दर २.७५% कायम रहनुले ऋण लागत घटाउने, उत्पादनमा लगानी बढाउने र उद्यमीको आत्मविश्वास उच्च बनाउने प्रभाव देखिएको छ।
यसले व्यावसायिक लागत घटाइ नाफा–क्षमता बढाउने र उद्यम विस्तार गर्न नयाँ सम्भावना खोल्ने उनले उल्लेख गरे।
समस्या समाधानका लागि उद्यमीहरूले उद्योग सङ्गठनमार्फत सामूहिक दबाब दिएर सरकारसँग औपचारिक पहल गर्नुपर्ने उनको सुझाव थियो।
सार्वजनिक खर्च सक्रिय भए बजार चलायमान हुने अधिकारीले खपत घटेपछि माग कम हुँदै निजी क्षेत्रको गतिविधि सुस्त हुने र यस्तो बेला सरकारको प्रभावकारी सार्वजनिक खर्चले निर्णायक भूमिका खेल्ने स्पष्ट पारे।
“विकास आयोजना छिटो अघि बढाउन, नयाँ परियोजना सुरु गर्न र बजारमा मुद्रा प्रवाह कायम राख्न सके आर्थिक गतिविधि पुनः गतिशील हुन्छ,” उनले जोड दिए।

कार्यक्रममा संस्थाका अध्यक्ष शुशन प्रधान, निवर्तमान अध्यक्ष मुनान रिजालसहित बैंक क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। यस्तै धड्कन कट्टेल (प्रणाम प्लास्टो प्रोडक्ट्स), हर्ष माहेश्वरी (ग्याबियन टेक्नोलोजिज नेपाल प्रा. ली), केशव राठी (इक्विपार्ट्स नेपाल र राठी केबल्स), कुणाल शाह (किङ ट्रेडर्स एन्ड सप्लायर्स), मयंक शाह (सगुन रेडिमेड उद्योग), सुशान्त न्यौपाने (मेडिटेक फार्मा डिस्ट्रीब्युटर्स), तुषार अग्रवाल (राधा कृष्णा राइस मिल प्रा. ली), हर्षवर्धन सारडा (पशुपति खाद्य तेल प्रा. ली), धनञ्जय अटल (कृष्णा प्रिन्टर्स), विज्ञान दाहाल (एनआइसी एसिया बैंक) लगायत सहभागी भएका थिए।
निवर्तमान अध्यक्ष तथा बजरङ्ग स्टिलका प्रबन्ध निर्देशक मुनान रिजालले पछिल्ला दुई वर्ष स्टिल उद्योगका लागि सबैभन्दा कठिन अवधि भएको उल्लेख गर्दै गम्भीर तथ्याङ्क प्रस्तुत गरे।
रिजालका अनुसार स्टिल उद्योगमा मात्र वार्षिक करिब ४० अर्ब रुपैयाँ (४ हजार करोड) बराबरको राजस्व छलिँदै आएको छ। कवाडी कारोबारमा कर नतिरी सस्तोमा सामग्री बेच्ने प्रवृत्ति बढेपछि वैधानिक उद्योगहरू महँगो कच्चा पदार्थ किन्न बाध्य भएका छन्, जसले बजारमा प्रतिस्पर्धा पूर्ण रूपमा असमान बनाएको आरोप लगाएका छन्।
आपूर्ति लागत बढ्नु, कर प्रणालीमा असमानता र बजार माग घट्दै गएपछि वैधानिक उद्योगहरूले उत्पादन क्षमता करिब एक–तिहाइसम्म घटेको गुनासो गरेका छन्। उद्यमीहरूका अनुसार धेरै उद्योग ‘ब्रेक–इभेन’ पनि नपुग्ने स्थितिमा पुगेका छन्। पछिल्ला वर्षमा आयात–निर्यात कारोबार उल्लेख्य रूपमा घटेपछि प्रदेशकै व्यापारिक चक्र कमजोर बनेको र यसको प्रत्यक्ष असर युवा उद्यमशीलतामा परेको उनीहरूको भनाइ छ ।
साथै, बैंकहरूले ऋण प्रवाह कडा बनाउँदा स्टार्टअप सञ्चालन पुँजी जुटाउन सङ्घर्षरत छन्। आर्थिक मन्दीसँगै कर्जा पुनर्संरचना पनि सहज नहुँदा धेरै व्यवसाय बन्द हुने जोखिममा पुगेको उनीहरूको भनाइ छ।
‘मिट एन्ड ग्रिट’ कार्यक्रममार्फत व्यवसाय तथा अर्थतन्त्र क्षेत्रका विज्ञहरूसँग नियमित रूपमा संवाद गर्दै आएको जानकारी सचिवालयकी करुणा कृपा पौडेलले दिइन्।
प्रतिक्रिया