काठमाडौँ : एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँग सहकार्य गर्दै देशभर डिजिटल कारोबारलाई अझ सरल र सुरक्षित बनाउन कार्ड–आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ।
बैंकले सुरु गरेको यो नयाँ सुविधा भौतिक तथा अनलाइन दुवै प्रकारका ई–कमर्स व्यवसायका लागि अत्यन्त उपयोगी हुने बताइएको छ।
नयाँ गेटवेमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका Visa र Mastercard माध्यमबाट ग्राहकको भुक्तानी लिन सक्नेछन्। यस सुविधाले नेपालभित्र वा विदेशबाट हुने भुक्तानी सहज रूपमा स्वीकार गर्न सकिने भएकाले व्यवसाय विस्तारमा पनि टेवा पुग्ने बैंकको दाबी छ।
पेमेन्ट गेटवेमा 3D Secure प्रविधि समावेश गरिएको छ, जसअनुसार हरेक कारोबारको प्रमाणीकरणका लागि OTP वा पासवर्ड आवश्यक पर्छ। यसले कार्डमार्फत हुने अनलाइन कारोबारलाई अझ सुरक्षित बनाउँदै अनाधिकृत खरिद तथा दुरुपयोगको जोखिम न्यून गर्ने बैंकको विश्वास छ।
सुरक्षामा भएको यो प्राविधिक मजबुतिकरणले उपभोक्ता तथा व्यवसायी दुवैलाई ढुक्क भएर अनलाइन कारोबार गर्न प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।
एनएमबि बैंकले यो सहकार्य देशमा ई–कमर्स प्रवर्द्धन तथा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई तीव्र बनाउन मद्दत गर्ने जनाएको छ। कार्ड भुक्तानीलाई सबैका लागि सहज, सरल र सुरक्षित बनाउँदै देशलाई डिजिटल अर्थतन्त्रतर्फ उन्मुख गराउने लक्ष्य बैंकले लिएको छ।
अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा यो पेमेन्ट गेटवे एकीकृत (Integrate) गर्न चाहने भए एनएमबि बैंकसँग सम्पर्क गर्न सक्नेछन्।
हाल बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया