विराटनगर: नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश समितिले नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीसँग अन्तरक्रिया गरेको छ।
मञ्चले मासिक रूपमा सञ्चालन गर्ने ‘लर्निङ सेसन’ कार्यक्रमअन्तर्गत आज विराटनगरमा उक्त अन्तरक्रिया गरिएको हो।
अन्तरक्रियामा बोल्दै चौधरीले कोशी प्रदेशमा अन्य प्रदेशको तुलनामा कृषि लगायतका क्षेत्रमा ठुलो सम्भावना रहेको बताउँदै युवा उद्यमीले आगामी दिनमा ती क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
उनले नेपालमा उद्यमीहरूले व्यवसायमा नयाँ योजना ल्याएर समुदायलाई जोडेर अघि बढ्न सके समाजको चौतर्फी लाभ हुने उल्लेख गरे।
चौधरीले देशमा अहिले राजनीतिक अस्थिरता देखिए पनि निकट भविष्यमै राजनीतिक र व्यावसायिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे।
“जेनजी आन्दोलनमा हाम्रो घर, उद्योग र शो–रुमहरूमा तोडफोड भयो, आगजनी भयो। आन्दोलनका कारण भएको क्षतिप्रति दुःखी छौँ, तर हामी निरुत्साहित छैनौँ। फेरि बलियो भएर अघि बढ्ने छौँ,” उनले भने।
कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले व्यवसाय क्षेत्रमा प्रतिफल प्राप्त गर्न समय लाग्ने भएकाले युवाहरूले धैर्यका साथ सक्रिय रूपमा अघि बढिरहनुपर्ने बताए।
मञ्चका अध्यक्ष सुशन प्रधानले मासिक ‘लर्निङ सेसन’ कार्यक्रममार्फत व्यवसाय तथा अर्थतन्त्र क्षेत्रका विज्ञहरूसँग नियमित संवाद गर्दै आएको जानकारी दिए।
प्रतिक्रिया