काठमाडौँको लुट र हत्यापश्चात् भाग्दा-भाग्दै पाँचथरमा अन्त्य भयो लाक्पाको गाडी मालिक बन्ने सपना

शुक्रबार, ३१ असोज २०८२
PHOTO: AI

पाँचथर : बुधबार अपराह्न सडकमा ट्राफिकको सवारी जाँच भइरहेको थियो। त्यही बेला इलामतर्फबाट आएको एउटा पिकअपले ट्राफिकले रोक्न गरेको सङ्केत बेवास्ता गर्दै फिदिमदेखि हेंवा खोलातर्फ हुइँकियो।

ट्राफिक प्रहरी र त्यहाँ रहेका अन्य प्रहरीले चालकको अस्वाभाविक व्यवहार देखेर पिछा गर्न थाले। अघि अघि पिकअप, पछि पछि दुईवटा मोटरसाइकलमा तीनजना प्रहरी थिए।

फिदिमदेखि करिब २० किलोमिटर दूरीमा अवस्थित सल्लेरी बजार पुगेपछि पिकअपले मेची राजमार्ग छोडेर कच्ची बाटो समात्दै सुभाङतर्फ मोडियो। त्यहाँबाट सुभाङतर्फ जाने बाटो छोडेर एकचेपा तर्फ झर्न थाल्यो।

एकचेपा स्कुल नजिकै पुगेपछि पिछा गरिरहेका प्रहरीहरू सदरमुकामतर्फ फर्किए। उनीहरू फर्किएलगत्तै सल्लेरीबाट एकचेपा हुँदै तमोर कोरिडोरतर्फ अघि बढिरहेको पिकअप दुर्घटनामा परेको र चालकको मृत्यु भएको खबर आयो।

दुर्घटनापछि ठूलो सङ्ख्यामा स्थानीयहरू भेला भए। नजिकको जनप्रतिनिधि पनि खबर पाएर दुर्घटना स्थलमा पुगे, केही बेरमा प्रहरी पनि पुग्यो।

pradeskhabar.com - 2025-10-17T090304.640

घटना स्थलको प्रकृति मुचुल्का बनाउने क्रममा गाडीभित्रको जाँच गर्दा बा ७ च ५४४९ नम्बर प्लेट र सोही गाडीको ब्लु बुक भेटियो। गाडी बाहिर टाँसिएको नम्बर प्लेटमा भने २ च १६५१ लेखिएको थियो।

कागजात र गाडीमा भएको नम्बर फरक भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा दुर्घटनामा परेको गाडी १५६१ नभएर ५४४९ नै रहेको पुष्टि गर्‍यो। उक्त गाडी असोज २४ गते काठमाडौँको दक्षिणकाली ६ बैरेनीबाट लुटिएको रहेछ।

प्रारम्भिक अनुसन्धान अनुसार, गाडी सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय सुरेश श्रेष्ठको रहेको पुष्टि भएको छ।

असोज २४ गते राति बैरेनीमा गाडी लुट्नु अघि श्रेष्ठको हत्या गरिएको थियो। उनको हत्या पछि लुटिएको गाडी विभिन्न ठाउँ घुमाउँदै पाँचथर ल्याइपुग्दा दुर्घटनामा परेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले भने, “गाडीको चेसिस, इन्जिन र अन्य प्रमाण काठमाडौँमा लुटिएको पिकअपसँग मेल खाएको छ। काठमाडौँमा बस्दै आएका श्रेष्ठको हत्या गरी गाडी लुटिएको खुलेको छ।”

श्रेष्ठको शव असोज २५ गते काठमाडौँको कीर्तिपुर स्थित टुकुछापमा बीभत्स हत्या गरिएको अवस्थामा भेटिएको थियो। त्यसपछि गाडी खोज्ने क्रमलाई प्रहरीले तीव्रता दिएको थियो।

नियमित जाँचका क्रममा सडकमा आइपुगेको सवारीका कागजात देखाउनको साटो भागेपछि शङ्का लागेर गाडीलाई फलो गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक कर्णले भने, “चालकले लाइसेन्स र ब्लु बुक नदिई भागेपछि केही गडबड छ भन्ने शङ्का भयो। सामान्य व्यक्ति त्यसरी भाग्दैन, यो अपराधसँग जोडिएको रहेछ।”

दुर्घटनामा लाक्पा नुर्बु शेर्पाको शव भेटिएको छ। उनको साथबाट सवारी चालक अनुमति पत्र र केही कागजात पनि फेला परेका छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ निवासी लाक्पा शेर्पा काठमाडौँमै बस्दै आएका थिए। दुई दिनअघि ताप्लेजुङमा रहेका पितालाई फोन गरेर भनेका थिए, “आफ्नो गाउँमै चलाउन मिल्ने नयाँ गाडी लिएर आउँदै छु।”

दुर्घटना पश्चात् मृतकको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट श्रेष्ठको हत्या गरी गाडी लुटिएको सिसिटिभी फुटेज दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। त्यही बेला लुटिएको गाडी पाँचथरमा दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकको ज्यान गएकोले हत्या उनलाई शेर्पाले गरेका थिए वा अरू कसैले गरेको भन्ने विषयको निष्कर्षमा पुग्न भने प्रहरीले अझै चुनौती सामना गरिरहेको छ।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार