धरान : नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण तालिम आज (बिहिबार) सम्पन्न भएको छ । गत असोज २७ गतेदेखि इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा सुरु गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
समापन समारोहमा पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सेनाले राष्ट्रिय सुरक्षासँगै खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासम्मका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले सेनाको भूमिका केवल सीमाको रक्षा र सुरक्षासम्म सीमित नभई राष्ट्रिय एकता, शान्ति, सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा पनि अग्रणी रहेको उल्लेख गरे ।
पृतनापति केसीले अभिमुखीकरण कार्यक्रमले सञ्चारकर्मीहरूमा सेनाको संगठनात्मक संरचना, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप समझ र सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुर्याएको विश्वास व्यक्त गरे । उनका अनुसार यस तालिमले सञ्चारकर्मीहरूलाई तथ्यपरक र जिम्मेवार रिपोर्टिङतर्फ प्रेरित गर्दै सेनाबारे सही र सन्तुलित जानकारी प्रवाहमा मद्दत गर्नेछ ।
चारदिने अभिमुखीकरणका क्रममा सहभागी सञ्चारकर्मीहरूले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी र शान्ति स्थापना कार्य, विकास तथा निर्माणमा सेनाको योगदान, डिजिटाइजेशन प्रणाली, विपद् प्रतिकार्य, र राष्ट्रिय संवादका विभिन्न विषयमा जानकारी लिएका थिए ।
कार्यक्रमका क्रममा सहभागीहरूलाई कोशी टप्पु वन्यजन्तु आरक्षलगायत पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रको फिल्ड भ्रमण गराइएको थियो, जसबाट उनीहरूले सेनाले वातावरण संरक्षण, जैविक विविधता र स्थानीय समुदायसँगको सहकार्यमा खेलेको भूमिकाबारे प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए ।
समापन समारोहमा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, नेपाली सेनाका गतिविधिहरूमा निरन्तर सहयोग पुर्याउँदै आएका १३ सामुदायिक रेडियो स्टेशनहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया