इटहरी : ६ महिनाअघि आगलागीको कारण बन्द भएको इटहरीको चर्चित सेन्ट्रल प्लाजा अब नयाँ रूप र आधुनिक सुविधासहित फेरी सञ्चालनमा आउने तयारीमा जुटेको छ।
२०७५ सालमा ५० करोडको लगानीमा स्थापना भएको यो प्लाजा गत चैत्र १३ गतेको आगलागीपछि पूर्ण रूपमा बन्द भएको थियो।
प्लाजाका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठका अनुसार, ६ महिनापछि पहिलो चरणमा एउटा क्यु एफ एक्स हल सञ्चालनमा आएको छ भने अर्को हल निर्माणको अन्तिम चरणमा छ र छिट्टै सञ्चालनमा आउनेछ। नयाँ हलको क्षमता १३४ सिट रहनेछ।
होटेल बरन्डामा आगलागी अघि ३० कोठा रहेकोमा अब पुनः निर्माणपछि २८ थप कोठासहित सञ्चालन हुने छ। १० तल्ले भवनको भित्री सजावट र बाहिरी स्वरूप पूर्ण रूपमा आधुनिक ढङ्गले परिवर्तन गरिएको छ। यसअघि प्लाजामा दुई सेमिनार हल मात्र थिए, अब थप दुई हल निर्माण गरेर कुल चार हल बनाइएका छन्।
श्रेष्ठले बताए अनुसार, “आगलागीले धेरै नोक्सान पुर्याएको थियो, तर हामीले हिम्मत हारेनौँ। अब प्लाजा अझ व्यवस्थित, मजबुत र आधुनिक अनुभव दिने वातावरणमा तयार भइरहेको छ।”
प्लाजामा लक्ष्मी सनराइज बैङ्कको प्रदेशस्तरीय कार्यालय र एभरेष्ट बैङ्कको शाखा पनि रहेको छ। नयाँ डिजाइनको काम विशेष वास्तुशिल्पीय योजना अनुसार भइरहेको छ। फायर सेफ्टीमा विशेष ध्यान दिइएको छ।
प्रत्येक कोठामा “Fire Water Sprinkler System” फायर फाइटिङ सिस्टम राखिएको छ, जसले आपतकालमा स्वचालित रूपमा पानी झर्ने व्यवस्था गर्छ।
श्रेष्ठ भन्छन्, “हामीले जनताले चाहेका आधुनिक र आकर्षक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ। पहिले भन्दा फरक, नयाँ र आधुनिक अनुभव दिने वातावरण निर्माण हाम्रो मुख्य उद्देश्य हो।”
नयाँ स्वरूपमा सेन्ट्रल प्लाजा अब होटल,हल,मल,बैङ्क र व्यावसायिक कार्यालयहरूको मिश्रण बनेर इटहरीको व्यावसायिक केन्द्रको रूपमा फेरी उदाउने तयारीमा छ।
प्लाजाको पहिलो र दोस्रो तल्लामा विविध प्रकारका कपडा पसल, फेसन आइटम स्टोरदेखि लिएर मोबाइल शोरुमसम्म रहेका छन्।
यसले स्थानीय व्यवसाय र ग्राहक दुवैलाई आकर्षणको केन्द्र बनाउने अपेक्षा गरिएको छ। अब यहाँ सपिङ गर्न आउनेले एकै स्थानमा फेसन, इलेकट्रोनिक्स र नवीनतम मोबाइल उपकरणहरूको अनुभव लिन सक्नेछ
सहरको मुख्य चोकमा रहेको पूर्वकै चर्चित व्यापारिक मलमा भीषण आगलागी हुँदा भयावह दृश्य देखिएको थियो ।
कोशीका १७ वटा दमकलको प्रयासका बाबजुद पनि आगो सहजै नियन्त्रणमा आउन सकेन। करिब ६ घण्टा लगातार प्रयासपछि मात्र क्रेनमार्फत वारुण यन्त्रको पानीले आगलागी नियन्त्रणमा लिइएको थियो।
आगलागीको समयमा मलभित्र ११ जना फसेका थिए, जसमध्ये केहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको थियो ।
प्रतिक्रिया