भद्रपुर, : हिउँदे बालीका लागि यस वर्ष रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडल जनाएको छ । झापाको बिर्तामोडमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडे शाखामा दैनिक करिव दुई सय मेट्रिक टन मल प्राप्त भइरहेकाले यस वर्ष झापामा रासायनिक मलको अभाव नहुने जनाइएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको र त्यति नै परिमाणमा बिक्री वितरण भईरहेको छ । राजवंशीका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिसकेको छ । चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छ भने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात रहेकाले पनि यस वर्ष रासायनिक मल अभाव नहुने उनले विश्वास गरेका हुन् ।
शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्रीवितरण गरिएको छ ।
हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको समेत जनाइएको छ । युरिया प्रतिबोरा आठ सय आठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा रु दुई सय १५ मा शाखाबाट बिक्री भइरहेको छ ।
प्रतिक्रिया