‘फेस अफ इन्स्योरेन्स डाइलग’मा सनिशा भट्टराई नियुक्त

शनिबार, ०३ माघ २०८२

काठमाडौँ : नेपाल फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई तेस्रो संस्करणको इन्स्योरेन्स डाइलग को ‘फेस अफ इन्स्योरेन्स’ का रूपमा नियुक्त भएकी छन्।

बीमा क्षेत्रप्रति आम नागरिकको बुझाइ विस्तार गर्न, बीमालाई केवल औपचारिक सेवा मात्र नभई जीवनको आधारभूत सुरक्षाका रूपमा स्थापित गर्न तथा नीतिगत र व्यवहारिक पक्षबीचको दूरी घटाउने उद्देश्यसहित उनलाई ब्रान्ड एम्बेसडरको भूमिकामा चयन गरिएको हो।

इन्स्योरेन्स डाइलग नेपालमा बीमा क्षेत्रका सबैभन्दा गम्भीर नीतिगत तथा भावनात्मक संवाद प्लेटफर्मका रूपमा विकास हुँदै आएको छ।

यहाँ केवल छलफल मात्र नभई नीति निर्माता, नियामक निकाय, बीमा कम्पनीका प्रमुख, बैंकिङ तथा निजी क्षेत्र, कलाकार, युवा पुस्ता र आम नागरिकलाई एउटै मञ्चमा ल्याई बीमाको भविष्यबारे साझा दृष्टिकोण निर्माण गरिँदै आएको छ।

यस डाइलगको विशेषता भनेको बीमालाई कागजी बहसभन्दा बाहिर ल्याई व्यवहारिक नीतिगत सुधार, बजार विस्तार र जनजीवनसँग प्रत्यक्ष रूपमा जोड्ने विषयमा केन्द्रित हुनु हो।

बीमा दाबी प्रक्रिया, बीमा पहुँच विस्तार, सार्वजनिक सम्पत्तिको बीमा, कृषि तथा स्वास्थ्य बीमा, डिजिटल बीमा प्रणाली, पुनर्बीमा तथा अन्तर्राष्ट्रिय अभ्यासलाई नेपाली परिवेशसँग कसरी जोड्ने भन्ने विषयमा यहाँ गहिरो बहस हुँदै आएको छ।

अघिल्ला संस्करणका छलफलहरूले बीमा क्षेत्रलाई बजेट तथा नीतिनिर्माणको प्राथमिक एजेन्डामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन्।

सार्वजनिक सम्पत्तिको बीमा, बीमा पहुँच विस्तार तथा बीमा प्राधिकरणको नियामकीय सुधारसम्बन्धी बहसहरू नीतिगत तहमा गम्भीर रूपमा उठ्न थालेका छन्, जसलाई इन्स्योरेन्स डाइलगको ठोस उपलब्धिका रूपमा लिइएको छ।

‘फेस अफ इन्स्योरेन्स’ का रूपमा सन्चिता भट्टराईको भूमिका केवल प्रतिनिधिमूलक मात्र नभई बीमालाई जनस्तरसम्म पुर्‍याउने दूतको हुने आयोजकले जनाएको छ।

कलाकारको कला, प्रभाव, लोकप्रियता र व्यक्तित्वले बीमासम्बन्धी सन्देशलाई भावनात्मक र प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने विश्वास गरिएको छ।

अभिनेत्री भट्टराईले बीमालाई केवल वित्तीय सेवा नभई जीवनको जोखिम व्यवस्थापन, आत्मविश्वास र भविष्यको स्थायित्वको आधारका रूपमा व्याख्या गर्दै युवा पुस्ता तथा सृजनशील क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई बीमाप्रति आकर्षित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

बैंकिङ समाचार र युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुँदै आएको इन्स्योरेन्स डाइलग आज संवाद मात्र नभई नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने, उद्योगलाई उत्तरदायी बनाउने र नागरिकलाई सचेत गराउने सशक्त अभियानका रूपमा स्थापित हुँदै गएको छ।

यही कारण सनिशा भट्टराईलाई इन्स्योरेन्स डाइलगको ब्रान्ड एम्बेसडर तथा ‘फेस अफ इन्स्योरेन्स’ नियुक्त गरिएको बैंकिङ समाचारका प्रधान सम्पादक राजु ढुंगेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार