काठमाडौँ : राजनीतिमा कहिलेकाहीँ त्यस्ता पात्र देखा पर्छन् जसले लामो समयदेखि स्थापित राजनीतिक संरचना, दलगत शक्ति सन्तुलन र नेताको परम्परागत यात्रा सबै एकैचोटि चुनौती दिन्छन् र नयाँ बाटो खोल्छन्। यस्ता पात्र हुन्—बालेन्द्र शाह (बालेन) र हर्क साम्पाङ।
२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा यी दुई पात्रले नेपाली राजनीतिमा परम्परागत शक्तिको विकल्प खोज्नेहरूलाई मात्र उत्साहित पारेनन्, राजनीतिप्रति आकर्षित हुनेको सङ्ख्या पनि बढाए।
काठमाडौँमा र्यापर बालेनले नेपाली काँग्रेस र नेकपा एमालेको गढ भत्काउँदै मेयर बने। उता धरानमा तत्कालीन माओवादी र काँग्रेससहितको पाँच दलीय गठबन्धन र एमालेको आक्रामक चुनावी तयारी पन्छाउँदै हर्क साम्पाङले चुनाव जिते।
बालेनको चुनाव चिह्न ‘लौरो’ थियो, जसले हर्कलाई पनि प्रभावित बनायो र उनी लौरोमै चुनाव लडे। स्वतन्त्र र समान चुनाव चिह्नमा लडेकाले उनीहरू एकअर्काका प्रशंसक बने। सामाजिक सञ्जालमा पनि उनीहरू एकअर्काप्रति माया र सम्मान व्यक्त गर्थे।
स्वभावमा फरक भए पनि उनीहरू निकटजस्ता थिए। बोल्दै नबोल्ने बालेन र धेरै बोल्ने हर्कको दोस्तीले वैकल्पिक राजनीतिमा चासो राख्नेहरूमा उत्साह थपिरह्यो। तर, २३–२४ भदौमा जेजनी आन्दोलन भएपछि, यी दुई पात्र फरक दिशामा देखिए। हर्कले प्रधानमन्त्री बन्न चाहँदा, बालेनले रोके। हर्कले मन्त्री बन्ने चाहना राख्दा पनि बालेन तयार भएनन्। परिणामस्वरूप आगामी निर्वाचनमा यी दुई एकअर्काविरुद्ध देखिँदै छन्।
यद्यपि बालेन नबोलेरै हर्कको प्रधानमन्त्री बन्ने चाहनामा तगारो बनेको छ भने हर्क धेरै बोलेर चुनौती दिने प्रयासमा छन्। चुनावी नतिजा जसरी पनि मुलुकको भावी नेतृत्व तय गर्नेछ। यी दुई पात्रले परम्परागत शक्तिमाथि मात्र प्रश्न उठाएनन्, उनीहरू सिधै मुलुकको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छन्।
संविधानसभाबाट संविधान जारी भएपछि २०७४ मा तीनवटै तहको निर्वाचन भएको थियो। मतदानकै दिन बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आज भोट हालिएन किनभने म उम्मेदवार थिइनँ।’ त्यसताका उनी इन्जिनियर र र्यापर मात्रै थिए।
पाँच वर्षपछि, २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा बालेन राजनीतिमा पूर्णतया उदाए। काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएर उनले तेस्रो परिचय—नेता—स्थापित गरे। बालेनको नारा थियो, ‘आजसम्म दलले गरे, अब बदल्नेले गरौँ।’
धेरैको अनुमान विपरीत, उनले काठमाडौँ महानगरको मेयर निर्वाचित भए। मुख्य प्रतिस्पर्धी दल काँग्रेस–एमालेका उम्मेदवार क्रमशः दोस्रो र तेस्रो भए। तर, मेयरको रूपमा बालेनको प्रतिबद्धता पाँच वर्ष टिकेन। उनले चुनावी बाचा पूरा नगरी आधा कार्यकालमै महानगरबाट राजीनामा दिए र तराईतर्फ ध्यान सरे।
उनको पहिलो संसदीय निर्वाचन सम्भवतः झापा–५ हुनेछ, जहाँ तीन दशकदेखि पूर्वप्रधानमन्त्री एवं नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दै आएका छन्। बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गर्दैछन्।
काँग्रेस–एमालेका गढमा चुनाव जितेपछि बालेनप्रति आशा र शङ्का मिसिएको नजर थियो। स्वतन्त्र उठेर काँग्रेसको पाँच दलीय गठबन्धन र एमालेको ‘लालकिल्ला’मा जित हासिल गरेपछि उनी राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चित भए।
महानगरमा गैरदलीय जनप्रतिनिधि बालेन मात्र थिए। पहिलो वर्षमा उनलाई कसैले बाधा दिएन। तर, उनले एक्लै काम गर्न थालेपछि विवाद र महानगरभित्र तनाव बढ्यो।
उनको योजना काठमाडौँको फोहोर व्यवस्थापनमा केन्द्रित थियो। अर्ग्यानिक फोहोर प्रशोधन गरेर प्राङ्गारिक मल बनाउने योजना भए पनि प्रगति थोरै देखियो। फुटपाथ व्यवस्थापनमा पनि आलोचना बढी भेटियो। बागमती किनारका बस्ती हटाउँदा, कबाड सङ्कलनमा अवरोध हुँदा, र पुराना संरचना हटाउँदा विरोध भयो।
सकारात्मक पक्षमा, सामुदायिक विद्यालय सुधार, निजी विद्यालयका विदेशी नाम परिवर्तन, छात्रवृत्ति वितरण, र सांस्कृतिक कार्यक्रमको संरक्षण जस्ता पहलहरू अघि बढाए।
सामाजिक सञ्जालमा लोकप्रिय भए पनि जनसम्पर्कमा कमजोर देखिए। २४ भदौको विध्वंसमा उनको उत्तेजक अभिव्यक्तिले पनि भूमिका खेले भन्ने आरोप लागेको छ।
आन्दोलनपछि बालेनको रोडम्यापमा मुलुक अघि बढेको देखिन्छ। सेना प्रमुखसँग वार्ता, संसद् विघटनको सर्त, र जेनजी समूहलाई सिधा आह्वान गर्ने कार्यमा उनी निर्णायक बने। सम्भवतः उनी भावी प्रधानमन्त्रीका रूपमा अग्रसर छन्।
आठ वर्षअघि चुनावमा नउठ्ने र भोट नहाल्ने बताएका बालेन, अहिले रास्वपाको साथमा बहुमतसहित सिंहदरबारमा उदाउने महत्वाकांक्षासहित अघि बढेका छन्।
प्रतिक्रिया