‘बा’सँग चुनाव लड्ने बालेनको तयारी,देशैभर ‘सूक्ष्म सर्वेक्षण’

बुधबार, ३० पुस २०८२

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्ने घोषणा गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चुनावी तयारीलाई तीव्र बनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका बालेनले एमाले अध्यक्ष ओलीको चुनावी गढ मानिने झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका हुन्। बालेन झापाबाट चुनाव लड्ने पक्का भएको रास्वपा नेतृ निशा डाँगीले जानकारी दिइन्।

डाँगीले राजधानीसँग भनिन्, “पार्टीको रिसर्च टिमको सुझाव र वरिष्ठ नेताहरूको प्रतिबद्धताअनुसार अब फेरि झापाबाट नै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ।” आन्तरिक सर्वेक्षणका आधारमा झापा–५ बाटै उम्मेदवारी दिने निर्णय भएपछि चुनावी तयारीबारे परामर्श गर्न बालेनले पार्टीका जिल्ला नेताहरूको टोलीलाई बोलाएका थिए।

आइतबार दिउँसो २ बजे ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा भएको छलफलपछि झापाली नेताहरूले बालेनसहितको तस्बिर सार्वजनिक गरेका छन्।

छलफलमा जिल्ला सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरा, झापा–३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेत, झापा–५ का विभागीय सदस्य विरोध सुवेदी तथा जिल्ला समितिको अनुशासन आयोगका संयोजक अर्जुन उप्रेती सहभागी थिए।

यसअघि पार्टी प्रवक्ता मनिष झा, नेताहरू निशा डाँगी, प्रमोद न्यौपाने, राजीव खत्रीलगायतको टोली झापा पुगेर विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गरिसकेको छ भने रिसर्च टिमले अनौपचारिक अध्ययनसमेत गरेको थियो।

झापा बालेन शाहको ससुराली जिल्ला भएकाले स्थानीय सम्बन्धलाई आधार बनाएर रास्वपाका नेताहरूले केही स्थानीयसँग सम्पर्क बढाएका छन्। एमाले र काँग्रेसका केही नेतासँग समेत टेलिफोन संवाद गराइएको र बालेनले ६ माघदेखि झापाली जनताबीच आफूलाई प्रस्तुत गर्ने सङ्केत दिएका छन्।

यसैबीच, बालेन टिमबाट प्रभावशाली नेताका रूपमा रास्वपा प्रवेश गरेका सागर ढकालले डडेलधुराबाट काँग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

काङ्ग्रेसभित्रको आन्तरिक किचलोका कारण देउवा चुनाव नउठेको अवस्थामा बाहेक डडेलधुरा–१ लाई काँग्रेसले पक्का जित्ने क्षेत्रका रूपमा मूल्याङ्कन गरिरहेको बताइन्छ। सोही क्षेत्रबाट ढकाललाई उम्मेदवार बनाउने गरी रिसर्च टिमले काम गरिरहेको ढकालनिकट स्रोतले जनाएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार