बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार, ओलीलाई चुनौती

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : २१ फागुनको निर्वाचनका लागि बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्ने पक्का भएको छ। यसै निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उठ्दै छन्।

यसअघिका निर्वाचनमा पनि ओली यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। तर यस पटक रास्वपा र बालेन टिम ओलीलाई हराउने तयारीमा लागेको स्रोतले जनाएको छ।

बालेन निकट स्रोत र रास्वपाका नेताहरूका अनुसार आइतबार बालेन र रास्वपाका झापा जिल्ला प्रतिनिधिहरूबीचको भेटपछि झापा–५ फाइनल गरिएको हो।

बालेनको बोलावमा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकसहितको टिम आइतबार ललितपुर पुगेको थियो।

उम्मेदवारी सिफारिस र समानुपातिकमा झापा शून्य भएकाले त्यसलाई मिलाउन पाठक दलबलसहित काठमाडौँ आएका थिए। रवि लामिछनेसहित रास्वपाका केन्द्रीय पदाधिकारीहरूसँग भेट गर्ने योजना भए पनि बालेन टिमले पहिले उनीहरूलाई बालेनसँग भेट्न आग्रह गरेपछि भेटको प्राथमिकता बालेनलाई दिइएको थियो।

पाठकका अनुसार, “बालेन टिमबाट फोन आएपछि हामी सबै कुरा छाडेर त्यहाँ लाग्यौँ। हाम्रो पहिलो भेट नै बालेनसँग भएको हो।” लामो छलफलपछि दुवै पक्षले बालेन झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगे। त्यसपछि बालेनले सामाजिक सञ्जालमार्फत झापा–५ बारे सङ्केत दिएका थिए।

बालेनको तयारी र प्राइमरी इलेक्सन

काठमाडौँको फोहोर व्यवस्थापनसम्बन्धी टेन्डर लगायतका केही काम टुङ्ग्याएपछि २–४ दिनभित्रै मेयरबाट राजीनामा दिने र सोझै झापा प्रवेश गर्ने तयारीमा बालेन छन्। झापामा उनका सहयोगीहरूले आवश्यक तयारी सुरु गरिसकेका छन्। ६ माघका लागि दलबलसहित ¥याली निकालेर उम्मेदवारी दर्ता गर्ने रास्वपाले निर्देशित छ।

रास्वपा झापाले बालेनको उम्मेदवारीका लागि प्राइमरी इलेक्सन नगरी सर्वसम्मतिका रूपमा एकल सिफारिस गर्ने तयारी गरेको छ। पाठक भन्छन्, “बालेन झापा आउँदा पार्टीभित्र कसैले रोक्दैन। सबै मिलेर वडा तहदेखि एकल नाम सिफारिस गर्छन्। कसैको विरोध हुँदैन। धेरै आकाङ्क्षी भए भने मात्रै प्राइमरी इलेक्सन हुन्छ।”

बालेनको चाहना सुरुदेखि नै झापा

बालेन टिम र रास्वपाबीच एकता तयारी हुँदा झापा–५ उनको पहिलो रोजाइमा परेको थियो। महोत्तरी–३ र काठमाडौँ–२ विकल्पमा राखेर सर्वेक्षण गरिए पनि बालेनले अन्ततः झापा–५ नै रोजेका हुन्। मेयरको रूपमा पाँच वर्ष काम गरेपछि उनले समर्थकहरूको आग्रहमा निर्वाचनमा भाग लिनुभएको हो। बालेनका सहयोगी भन्छन्, “चुनाव लड्ने भएपछि त ओलीलाई नै हराउने गरी उठ्ने हो।”

ग्राउन्ड जिरोमै छ बालेन टिम

झापा–५ बाट चुनाव लड्ने निर्णय भइसकेको भए पनि तयारी पुस पहिलो सातादेखि नै सुरु भएको थियो। बालेन पितृशोकबाट बाहिर आउनासाथ सहयोगीहरूसँग छलफलमा थिए। प्रारम्भिक सर्वेक्षणमार्फत मतदाताको मनस्थिति बुझ्ने काम सुरु भइसकेको छ। रास्वपा झापाका निर्वाचन क्षेत्र समिति संयोजक भेषराज भट्टराई भन्छन्, “बालेन टिमको केही व्यक्ति अहिले क्षेत्रमै छन् र आन्तरिक तयारीमा जुटेका छन्। ६ गतेका लागि ¥याली निकाल्ने तयारी जारी छ।”

स्थानीय नेताहरूका अनुसार, “प्रधानमन्त्रीको उम्मेदवारले हार्नु हुँदैन भन्ने अवस्थामा रिस्क लिनु हुँदैन। तर बालेन टिमले पहिले नै मतदाताको मनस्थिति अध्ययन सुरु गरिसकेको छ। यहाँ बालेनको चर्चा र क्रेज व्यापक छ।”

ऐतिहासिक आँकडा र वर्तमान अवस्था

पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनमा झापा–५ एमालेको गढ मानिन्छ। यहाँ गौरादह नगरपालिका, गौरीगन्ज गाउँपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाका केही वडा पर्छन्। यस क्षेत्रको मतदाता सङ्ख्या हाल १ लाख ६३ हजार ३७९ रहेको छ।

२०७४ मा १ लाख ३७ हजार ५४१ मतदाता मध्ये ९३ हजार ४८ ले मतदान गरेका थिए, जसमा ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका थिए। २०७९ मा मतदाता बढेर १ लाख ५४ हजार २८९ पुगे पनि ओलीको मत घटेको देखिन्छ। रास्वपा अहिले झापा–५ मा सबभन्दा बलियो सङ्गठन भएकोले बालेनको नामकै कारण मत स्वतः बढ्ने र विजय सम्भावना रहने बुझाइ छ।

तर, एमालेका जिल्ला नेताहरू भने यसलाई असर नपर्ने दाबी गर्छन्। झापा–५ एमालेको क्षेत्र भएकाले ओली नै बहुमतसहित विजयी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार