रुखबिनाका देउवा, देउवाबिनाको डडेलधुरा

सोमबार, ०५ माघ २०८२

काठमाडौँ : विशेष महाधिवेशनमार्फत चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक नेपाली काँग्रेसको मान्यता दिएसँगै शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सन्नाटा छाएको छ ।

अघिसम्म चियाचौतारामा भेला भएर देउवा–गगन र समग्र पार्टी राजनीतिबारे छलफल गर्ने कार्यकर्ता शनिवार ती स्थानमा खासै देखिएनन् । भेटिएका केहीले पनि पार्टीको पछिल्लो अवस्थाबारे बोल्न चाहेनन् ।

जिल्लाका अधिकांश कार्यकर्ताको मनमा एउटै प्रश्न घुमिरहेको छ—देउवा फेरि पनि रुख चिह्न र चारतारे झन्डासहित चुनावी मैदानमा उत्रेलान् कि छुट्टै पार्टीबाट प्रतिस्पर्धा गर्लान् ? वा चुनावी राजनीतिबाट विश्राम लिने हुन् ? गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिपछि पार्टीको भविष्य के होला भन्ने चिन्ता पनि कतिपयमा देखिन्छ ।

पार्टीमा आएको पछिल्लो उथलपुथलबारे प्रतिक्रिया लिन खोज्दा काँग्रेस डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले बोल्न चाहेनन् । ‘यसबारे अहिले केही भन्न सक्दिनँ । आगामी दिनमा थाहा होला,’ उनले भने ।

काँग्रेसका निवर्तमान सभापति देउवा २०४८ सालदेखि निरन्तर निर्वाचित जनप्रतिनिधि हुन् । सोही वर्ष गृहमन्त्री बनेका उनले पाँच पटक सरकारको नेतृत्व गरिसकेका छन् । २०७२ सालदेखि पार्टी सभापति रहेका देउवा २०५९ को पार्टी विभाजनका बेला काँग्रेस प्रजातान्त्रिकका पनि सभापति थिए । २०६४ सालमा पार्टी पुनः एकीकृत भएको थियो ।

डडेलधुरावासीले सात पटकसम्म संसद् पठाएका देउवा पाँच पटक प्रधानमन्त्री बने पनि जिल्लावासी रोजगारीको खोजीमा भारत जानुपर्ने बाध्यता कायमै रहेको स्थानीयको गुनासो छ । खुला सीमाबाट कामको खोजीमा बाहिरिने युवाहरू आज पनि दैनिक देखिन्छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार प्रदेशगत रूपमा गरिबीको दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ । डडेलधुरामा गरिबीको दर ३३.२६ प्रतिशत छ । अर्थात् कुल १ लाख ३८ हजार ५ सय ३८ जनसङ्ख्यामध्ये ४६ हजार ८३ जना गरिबीको रेखामुनि छन् । पटक–पटक प्रधानमन्त्री बनेका देउवाले यस्ता विषयमा पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाको ‘लाइफलाइन’ मानिने भीमदत्त राजमार्ग ठाउँठाउँमा कालोपत्रे उप्किएर जर्जर अवस्थामा छ । कैलालीको अत्तरियादेखि डडेलधुरा सदरमुकामसम्मको १ सय १५ किलोमिटर सडक यात्रा वर्षौँदेखि कष्टकर छ । हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु हैरान हुन्छन् । चार वर्षअघि ठेक्का लागे पनि मर्मतको काम अघि बढ्न सकेको छैन ।

उपचारका लागि धनगढी जाँदा सडककै कारण सास्ती झेल्नुपरेको चम्साल गाउँकी ३८ वर्षीया निर्मला पन्त बोहराको भनाइ छ । ‘जटिल अवस्थाका गर्भवतीलाई धनगढी लैजानुपर्छ, तर सडकले झन् जोखिम बढाउँछ,’ उनले भनिन्, ‘अब चुनावमा नयाँ र युवालाई स्वागत गर्ने हो ।’

डडेलधुरामा तीन सय शय्याको सङ्घीय अस्पताल भए पनि १९ दरबन्दीमध्ये स्थायी रूपमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । मेडिकल सुपरिन्टेन्डेन्ट मात्र स्थायी छन् । गम्भीर बिरामीलाई साढे चार घण्टा लगाएर धनगढी लैजानुपर्ने बाध्यता छ ।

अस्पतालका सूचना अधिकारी टङ्क पन्तका अनुसार करार र छात्रवृत्तिमा १४ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । एक्स–रे मेसिन पाँच महिनादेखि बिग्रिएको छ । दैनिक ३ सयदेखि ५ सय बिरामी आउँछन्, जसमा करिब ५० जना अन्यत्र ‘रेफर’ हुन्छन् ।

‘सङ्घीय अस्पताल हुँदाहुँदै सामान्य हड्डी उपचारका लागि धनगढी जानुपर्छ,’ घटालका तेजराजले गुनासो गरे । ‘अब पुराना अनुहारको विकल्प खोज्नुपर्छ,’ उनले भने ।

देउवाको गाउँ गन्यापधुरा–१ मटेलातर्फ जाने सडक २६ वर्षदेखि अधुरै छ । करिब ९ करोड ५७ लाख लागतमा ठेक्का लागे पनि काम पूरा भएको छैन । २०८१ सालको पहिरोले बिगारेको सडकसमेत मर्मत हुन सकेको छैन ।

भीमदत्त राजमार्गमा फलफूल बेचिरहेकी ५० वर्षीया बसन्ती ऐर भन्छिन्, ‘अब गरिबका कुरा सुन्नेलाई भोट दिन्छौँ । चुनाव जितेपछि नेताहरू आफ्नै झगडामा अल्झिन्छन् ।’

डडेलधुरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक महता नयाँ झन्डा फेर्दैमा परिवर्तन नआउने बताउँछन् । ‘नियत परिवर्तन नभएसम्म अनुहार फेरिए पनि अवस्था फेरिँदैन,’ उनी भन्छन् ।

जिल्लामा ७ पालिका छन् । देउवाकै गन्यापधुरासहित अजयमेरुमा अझै कालोपत्रे सडक पुगेको छैन । यद्यपि भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले २०७४ पछि सडक, मेडिकल कलेज, सभाहल, सिँचाइ र खानेपानीमा उल्लेख्य काम भएको दाबी गरे ।

हाल डडेलधुरामा ९३ हजार ४ सय ३ मतदाता छन् । देउवा प्रायः हेलिकोप्टरमार्फत मतदानस्थल पुग्ने भएकाले गाउँको सडक अवस्था प्रत्यक्ष नदेखेको स्थानीय बताउँछन् ।

देउवाले २०४८ देखि २०७९ सम्मका सबै निर्वाचन जितेका छन् । पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार सागर ढकाल र विद्रोही नेता कर्ण मल्लका कारण जित कठिन बने पनि देउवाले निरन्तरता कायम राखे ।

आगामी २१ फागुनको चुनावका लागि काँग्रेस विभाजनअघि देउवा एकल सिफारिसमा थिए । गगन थापाको नेतृत्व आएपछि आफू डडेलधुराबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको सागर ढकाल बताउँछन् ।

डडेलधुराका सातमध्ये पाँच पालिकामा काँग्रेसको जित छ । स्वतन्त्र हुँदै रास्वपामा प्रवेश गरेका डा. तारा जोशीको प्रभाव पनि जिल्लामा उल्लेख्य छ ।

यसअघिको निर्वाचनमा देउवापत्नी आरजु राणाका विवादास्पद अभिव्यक्तिले काँग्रेसलाई क्षति पुगेको स्थानीय बताउँछन् । ‘जति भाषण गरिन्, उति नै विवाद बढ्यो,’ अजयमेरु–१ का रामसिंह भण्डारीले भने ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार