काठमाडौँ : आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणमा नेकपा एमालेले फरक मत राख्ने नेतालाई निषेधको नीति लिएको छ ।
मङ्सिरमा आयोजित पार्टीको ११औँ महाधिवेशनमा संस्थापन पक्षविरुद्ध छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका नेताहरू टिकट पाउनबाट वञ्चित भएका छन् ।
ती नेताहरूको टिकट ‘होल्ड’ गरी त्यसलाई टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओली आफैँले लिएका थिए । यसअघि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पनि फरक मत राख्ने नेताहरू परेका थिएनन् ।
अध्यक्षसँग प्रत्यक्ष प्रतिस्पर्धा गरेका नेता ईश्वर पोखरेलको टिकट होल्ड भएको छ । उनी काठमाडौँ–५ बाट उम्मेदवारका लागि एकल सिफारिस भए पनि केन्द्रीय सचिवालयले स्थगन गरेको हो ।
उनलाई टिकट दिने वा नदिने अधिकार ओलीलाई दिइएको छ । महाधिवेशनमा पोखरेल प्यानलबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका गोकर्ण विष्ट गुल्मी–२ का लागि उम्मेदवार भएका छन् । सचिवमा प्रतिस्पर्धा गरेका विनोद ढकाललाई आइतबार मोरङ–६ को टिकट दिइएको छ । संस्थापनविरुद्ध प्रतिस्पर्धा गरेका अन्य नेतालाई टिकट दिइएको छैन ।
पोखरेल पक्षबाट उपाध्यक्षमा उम्मेदवार भई पराजित भएका अरुण नेपाल र महासचिवमा प्रतिस्पर्धा गरी पराजित भएका सुरेन्द्र पाण्डे पनि उम्मेदवार हुनबाट वञ्चित भएका छन् ।
विगतमा पाण्डे चितवन–१ बाट उम्मेदवार हुँदै आएका थिए । पोखरेल पक्षबाट उपमहासचिवमा विजयी भएका योगेश भट्टराईको पनि टिकट खोसिएको छ । यसअघि उनले चुनाव जितेको गृह जिल्ला ताप्लेजुङमा युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाइएको छ ।
महाधिवेशनमा संस्थापन इतरबाट सचिव पदमा उम्मेदवारी दिएका अग्नि खरेल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, पुरुषोत्तम पौडेल, इन्द्रलाल सापकोटालाई टिकटबाट वञ्चित गरिएको छ ।
गत निर्वाचनमा खरेल झापा–१ र गैरे पाल्पा–२ बाट उम्मेदवार भएका थिए । गैरेले चुनाव जितेका थिए । झापा–१ र पाल्पा–२ का टिकटका उम्मेदवार क्रमशः रामचन्द्र उप्रेती र उपाध्यक्ष विष्णु पौडेल तय भएका छन् ।
पोखरेल पक्षबाट सचिवमा प्रतिस्पर्धा गरेका गोकुल बाँस्कोटाले पनि टिकट पाएनन् । गत निर्वाचनमा काभ्रे–२ बाट निर्वाचित भएका उनी यस पटक पुनः उम्मेदवार हुन खोजेका थिए ।
ओलीले उनको क्षेत्रमा अशोक ब्याञ्जुलाई अघि बढाएका छन् । काठमाडौँ–९ का आकाङ्क्षी कृष्णगोपाल श्रेष्ठलाई पनि फरक मत राखेकै कारण उम्मेदवार बन्नबाट वञ्चित गरिएको छ ।
११औँ महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी बिन्दा पाण्डे र सचिवमा प्रतिस्पर्धा गरेकी रचना खड्काले पनि टिकट पाइनन् । उनीहरू समानुपातिक सूचीमा समेत परेनन् । केन्द्रीय सदस्य खड्काले दोलखाबाट उम्मेदवार बन्न खोजे पनि पाइनन् ।
त्यस्तै, दैलेखमा पार्टीको आन्तरिक निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर सिफारिस भएका केन्द्रीय सदस्य विष्णु रिजाल पनि उम्मेदवार हुनबाट वञ्चित भएका छन् । संस्थापनमै रहेर पार्टीका तर्फबाट निर्वाचन आयोगमा काम गर्दै आएका अर्का केन्द्रीय सदस्य नीरज आचार्यको टिकट पनि खोसिएको छ ।
उपमहासचिव भट्टराईले टिकट वितरणमा स्पष्ट मापदण्ड नबनाई गरिएको आरोप लगाएका छन् । उनले भने, “निर्वाचनमा उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरता आधार मानिएको देखिन्छ। यसले आन्तरिक एकतालाई कमजोर बनाउँछ।”
नेता ईश्वर पोखरेलले टिकट वितरण सन्तुलित भए मात्र निर्वाचनमा राम्रो नतिजा ल्याउन सकिने बताए। उनले भने, “टिकट वितरण सन्तुलित नभएको गुनासो आएका छन्। आन्तरिक एकता बलियो भयो भने नतिजा राम्रो आउँछ।”
एमाले सचिव भानुभक्त ढकालले पार्टीले विधि र पद्धतिअनुसार उम्मेदवार छनोट गरेको दाबी गरे । “जिल्ला, प्रदेशबाट आएका सिफारिसलाई ध्यानमा राख्दै प्रत्यक्ष उम्मेदवार छनोट गरिएको हो। सबै आकाङ्क्षीले टिकट पाउनु सम्भव छैन, त्यसैले केही गुनासा आउन सक्छ,” उनले भने ।
एमालेले रुकुम पूर्व र झापा–३ जस्ता क्षेत्रहरूमा उम्मेदवार घोषणा गरेका छैन । यी क्षेत्रमा गठबन्धनको सम्भावना रहेकाले निर्णय पर्खिने अवस्था छ ।
शनिवार केन्द्रीय सचिवालय बैठकले १६५ मध्ये १४० निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको छ । काठमाडौँ–४, ५, ७, ९, ललितपुर–३, रुपन्देही–४, दाङ–१, रुकुम पूर्व, पर्सा–२ मा उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको छ ।
प्रतिक्रिया