सोनाम ल्होसारले आपसी सद्भाव र सामाजिक एकता बलियो बनाउँछः मुख्यमन्त्री कार्की

सोमबार, ०५ माघ २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तामाङ समुदायको प्रमुख  पर्व सोनाम ल्होसारको अवसरमा कोशी प्रदेश तथा देशविदेशमा रहेका सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले सोनाम ल्होसार तामाङ समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गरेका छन्। परम्परागत तथा सांस्कृतिक महत्त्व बोकेको यो पर्व रंगीन पोशाक, परम्परागत संगीत, नाचगान र विभिन्न परिकारका साथ उल्लासपूर्वक मनाइने परम्परा रहेको भन्दै यसले आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताले राष्ट्रिय संस्कृति र गौरवलाई समृद्ध बनाएको बताएका छन्। कोशी प्रदेश सरकार स्थापना कालदेखि नै विभिन्न समुदायका चाडपर्व, भाषा, संस्कार र परम्पराको संरक्षण तथा संवर्धनमा निरन्तर लागिरहेको उल्लेख गर्दै यस्ता पर्वहरूले सबै समुदायको पहिचान, आस्था र जीवनशैलीलाई स्थापित गर्न मदत पुग्ने बताएका छन्।

मुख्यमन्त्री कार्कीले पर्वहरूको उमङ्गसँगै आपसी सद्भाव र सहयोगी भावनाले राष्ट्रिय एकतालाई थप बलियो बनाउँदै “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। 

WhatsApp Image 2026-01-19 at 8.21.26 AM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार