ताप्लेजुङ । नेकपा एमालेले ताप्लेजुङ प्रतिनिधि सभा निर्वाचनका लागि क्षितिज थेवेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सो निर्णयसँगै पार्टीले उपमहासचिव योगेश भट्टराईलाई यसपटक टिकट नदिएको हो। गत शनिबार बसेको एमाले सचिवालय बैठकले ताप्लेजुङको उम्मेदवारी टुंग्याउन बाँकी राख्दै टिकट होल्ड गरेको थियो। त्यसपछि आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तिम निर्णय गर्दै थेवेलाई उम्मेदवार बनाएका हुन्।
एमाले सचिवालयका एक नेताका अनुसार शनिबारकै बैठकमा उम्मेदवारबारे सहमति भइसकेको भए पनि सो दिन सार्वजनिक नगरिएको मात्र हो। क्षितिज थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन्। उनी पार्टीको पछिल्लो महाधिवेशनबाट दोहोरिएर अध्यक्षमा निर्वाचित भएका थिए।
योगेश भट्टराई भने यसअघि ताप्लेजुङबाट २०७४ र २०७९ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी २०६४ र २०७० सालमा काठमाडौं–६ बाट संविधान सभा सदस्यको उम्मेदवार बनेका थिए तर ती दुवै निर्वाचनमा पराजित भएका थिए। एमालेको पछिल्लो निर्णयसँगै ताप्लेजुङमा पार्टीको उम्मेदवारी युवा नेतृत्वतर्फ सरेको छ।
प्रतिक्रिया