मोरङ–१ मा घनश्याम, अन्य ५ क्षेत्रमा एमालेका उम्मेदवार को को हुन् ?

सोमबार, ०५ माघ २०८२
pic : Ghanshyam Khatiwoda

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाँकी रहेका क्षेत्रसमेत समेट्दै उम्मेदवार निश्चित गरेको हो।

पार्टीका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, क्षेत्र नम्बर २ बाट रङेली नगरपालिकाका मेयर दिलीप अग्रवाल, क्षेत्र नम्बर ३ बाट इरान राई, क्षेत्र नम्बर ४ बाट जीवन घिमिरे, क्षेत्र नम्बर ५ बाट मनोज अग्रवाल र क्षेत्र नम्बर ६ बाट विनोद ढकाल उम्मेदवार बनेका छन्।

एमाले जिल्ला इन्चार्ज ऋषिकेश पोखरेलका अनुसार शनिवार क्षेत्र नम्बर ३ का लागि दिलीप राईलाई उम्मेदवार बनाउने निर्णय भए पनि आइतबार संशोधन गर्दै इरान राईलाई उम्मेदवार बनाइएको हो। यसैगरी, शनिवार टुङ्गिन बाँकी रहेका क्षेत्र नम्बर ५ र ६ मा पनि आइतबार उम्मेदवार चयन भएसँगै मोरङका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार निश्चित भएका छन्।

२०७९ सालको निर्वाचनमा एमालेले मोरङ जिल्लामा एक मात्र निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। यसपटक सबै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएर एमाले चुनावी प्रतिस्पर्धामा सशक्त रूपमा होमिएको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार