मुलुक चुनावी प्रक्रियामा होमिइसकेको बेलामा विघटित संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। हिजोको संस्थापन, अर्थात् विशेष महाधिवेशनको विपक्षमा रहेको देउवा समूहले नयाँ नेतृत्व स्वीकार गरेको अवस्था छैन।
चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न २ दिन मात्र बाँकी रहँदा देउवा समूहले चुनावी प्रक्रिया सार्न र आफूलाई आधिकारिक बनाउने मागसहित सर्वोच्च अदालत पुगेको छ।
यद्यपि यही बीचमा नयाँ नेतृत्वले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्नुपर्ने अवस्था छ। पुराना र चर्चित नेताले नयाँ नेतृत्व अस्वीकार गर्दा उनीहरूले टिकट पाउने कि नपाउने अन्यौलता छ।
यस्ता अवस्थामा नयाँ नेतृत्वले गर्ने काम र आगामी दिनमा काँग्रेसको अवस्था सम्बन्धमा काँग्रेसका नवनिर्वाचित उपसभापति पुष्पा भुसालसँग गरेको संवाद यस प्रकार छ:
निर्वाचन आयोगले तपाईँहरूको नेतृत्वको विशेष महाधिवेशनबाट गठित कमिटीलाई आधिकारिकता दिएको छ। तर हिजोको संस्थापन, अर्थात् देउवा समूहले यसलाई धोका र षड्यन्त्रपूर्ण भन्दै सर्वोच्च अदालत पुगेको छ। यस्तो अवस्थामा नेपाली काँग्रेसको राजनीतिक कोर्स के हुन्छ?
विशेष महाधिवेशनले नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ। यो विधानअनुसार निर्वाचित केन्द्रीय कार्य समिति हो र निर्वाचन आयोगमा अद्यावधिक पनि भइसकेको छ। यस्तो अवस्थामा पार्टीलाई कुन समूहले के भन्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक छैन। अब नेतृत्वले सबैलाई समेटेर अगाडि बढाउनुपर्छ। निर्वाचन आयोग संविधानअनुसार बनेको संवैधानिक अङ्ग हो। यसको निर्णय मान्दिनु भनेको संविधान मान्दिनु जस्तै हो। अदालतमा जाने वा आन्दोलन गर्ने कुरा राजनीतिक विषय हो, तर अब सबैले एउटै ठाउँमा रहेर अगाडि बढ्नु पर्छ।
उहाँहरू अदालत गइसकेका छन्, हैन?
जे भयो, सबै पार्टीको विधानअनुसार भएको हो। चुनावको बेला अदालत जाने वा आन्दोलन गर्नेभन्दा सबैले विधानअनुसार अगाडि बढ्नुपर्छ। अहिले विभाजित हुने अवस्था छैन। हामी मिल्यौँ भने मुलुक र पार्टी दुवैको हित हुन्छ। अनेक समूह वा गुट बनाउनु उचित हुँदैन। यसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उठ्ने उम्मेदवारलाई हतोत्साहित बनाउने काम गर्छ।
अहिलेको अवस्थाले चुनावमा असर पार्ला कि?
जनप्रिय, जित्ने र सम्भावना भएका उम्मेदवारलाई अगाडि बढाउने बारेमा छलफल भइरहेको छ। पार्टीभित्र सबै नेता–कार्यकर्ता सचेत छन्। चुनावमा काँग्रेसलाई बलियो बनाउन सबैले सकारात्मक भूमिका खेल्नेछन्।
विशेष महाधिवेशनको विपक्षमा रहेका पुराना नेताहरू तपाईँहरूसँग आउनुहुन्छ कि?
निरन्तर संवाद भइरहेको छ। सबै नेता–कार्यकर्ता काँग्रेसमा रहेर पार्टी बलियो बनाउन सहमत छन्। विशेष महाधिवेशनलाई विवादको विषय बनाउने योजना छैन।
हिजोको संस्थापन पक्षले वैशाखमा नियमित १५औँ महाधिवेशन गर्ने योजना बनाएको अवस्थामा, चुनावको मुखमा विशेष महाधिवेशन किन आवश्यक भयो?
विशेष महाधिवेशन प्रतिनिधिको विधानअनुसारको अधिकार हो। विधानमा यसका लागि व्यवस्था छ। भदौ २३–२४ पछि देशभर परिवर्तनको माग आएको थियो। युवा पुस्ताको नेतृत्व, रूपान्तरण र नयाँ ऊर्जा ल्याउने उद्देश्यले विशेष महाधिवेशन आवश्यक भएको हो।
अब काँग्रेसको टिकट बाँडफाँडको अवस्था कस्तो हुन्छ?
अब ६०–४० वा गुटमय विभाजनको अभ्यास हुँदैन। प्राथमिकता जनप्रिय, युवा, परिवर्तनकारी उम्मेदवारलाई दिनुपर्नेछ। सबै पक्षसँग समन्वय गरेर न्यायोचित निर्णय हुनेछ।
विशेष महाधिवेशनमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्तुत गर्नुभएको छ, यसको योजना के हो?
यसमा दुई कुरा छन्। पहिलो, संसदीय दलमा गुट–उपगुटको अस्वस्थ प्रतिस्पर्धा नहोस्। दोस्रो, अहिले नै उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा पार्टीको घोषणापत्रसँग मिलाएर काम गर्न सजिलो हुन्छ। आगामी ५ वर्षको स्थिरता सुनिश्चित गर्ने प्रयास हो।
पार्टी विभाजित भएर चुनावमा गयो भने परिणाम कस्तो आउला?
अब पार्टी विभाजित छैन। नयाँ नेतृत्व सबैलाई समेटेर अगाडि बढाउनेछ। इतिहास र जनताको भरोसालाई सम्मान गर्दै चुनावमा जानेछ।
आगामी १५औँ महाधिवेशनपछि काँग्रेसको स्वरूप कस्तो होला?
विधानअनुसार नियमित महाधिवेशन गर्नेछौँ। महिला र समावेशी नेतृत्वलाई व्यवस्थित गर्नेछौँ। पार्टी आन्तरिक लोकतान्त्रिक अभ्यासमा अघि बढ्नेछ। नयाँ पुस्तालाई अधिक अवसर दिने, समावेशी र विश्वासयोग्य पार्टी बनाउने प्रतिबद्धता छ।
प्रतिक्रिया