जेनजी आन्दोलनका क्रममा देशका अन्य सार्वजनिक संरचनामा जस्तै कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा पनि आगजनी र तोडफोड गरियो । जसका कारण अहिले सेवा प्रवाहमा निकै समस्या भइरहेको छ ।
आगजनीका कारण पूर्ण रूपमा क्षति भएको महानगर परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह जारी राखिएको छ । आगजनीपछि सेवा प्रवाहमा परेको समस्या, महानगरको आर्थिक अवस्था, आगामी योजनालगायतका विषयमा केन्द्रित रहेर महानगरका मेयर नागेश कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश यस प्रकार रहेको छ :
जेनजी आन्दोलनका क्रममा आगजनी भएको महानगरबाट सेवा प्रवाह कसरी गरिरहनु भएको छ ?
तपाईँहरू सबैलाई थाहा भएकै कुरा हो, भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा आगजनी र तोडफोड हुँदा पूर्ण रूपमा नष्ट भएको छ । भवनको बाहिरी स्वरूप मात्रै बाँकी रह्यो अरू सबै जलेर नष्ट भयो । भौतिक पूर्वाधार, राजस्व, स्वास्थ्य, घर नक्सा, जिन्सी, कानुन, महिला तथा बालबालिकासहित महानगरका अधिकांश शाखा र महाशाखा खरानीमा परिणत भयो ।
भौतिक संरचना मात्रै नभएर सबैजसो कागजात जलेर नष्ट भयो । तथापि हामीले खरानीमै उभिएर भए पनि जनताका सेवा रोक्नु हुँदैन भनेर महानगरमा आगो बलिरहँदा पनि स्वास्थ्यसहित अत्यावश्यक सेवालाई निरन्तरता दियौँ । दसैँ अगाडिदेखि राजस्व, कानुनलगायतका सेवालाई पूर्ववत् अवस्थामा सञ्चालनमा ल्यायौँ । दसैँ सकिए लगत्तै अन्य सबै शाखाका कामहरू सुरु भइसकेका छन् ।
जलेर नष्ट भएको कार्यालयबाट कसरी काम सुरु गर्नुभएको छ ?
तपाईँ आएर पनि हेर्न सक्नुहुन्छ । हामीले महानगर परिसरमा पाल टाँगेर सेवा प्रवाहलाई निरन्तरता दिइएका छौं । बस्ने ठाउँ नभएर कर्मचारीहरू खाली ठाउँमै कुर्सी राखेर जनताको सेवामा खटिरहनु भएको छ । सँगसँगै जलेको भवनको पुनर्निर्माण पनि अघि बढिरहेको छ । विगतको जस्तो काम गर्न त अझै केही समय लाग्न सक्छ । किनभने कागजात सबै खरानी भएका छन् । महानगरको प्रशासनिक भवन मात्रै नभएर केही वडा छाडेर अधिकांश वडा कार्यालयमा पनि आगजनी भएको थियो ।
जसका कारण महत्त्वपूर्ण कागजात खरानी भएको छ । भवन जल्दा बनाउन सकिन्छ । कुर्सी, फर्निचर जल्दा खरिद गर्न सकिन्छ तर कागजात जल्दा त्यसको पूर्ति कसरी गर्ने भन्ने विषय निकै ठुलो समस्या हो र गम्भीर विषय पनि हो । ती कागजपत्र सबै जनतासँग नै जोडिएका हुन्छन् । स्थानीय तह भनेको नजिकको, जतिखेर पनि भेटिने र सहज पहुँच भएको सरकार हो । त्यसो भएकाले पनि जनताका धेरै काम स्थानीय तहबाट हुँदै आएको थियो । जन्म दर्तादेखि मृत्यु दर्तासम्म स्थानीय तहबाटै हुने गरेको छ
भवन पुनर्निर्माणको कुरा गर्नुभयो, आगोले जलेको भवन पुनर्निर्माण गर्दा जोखिम हुँदैन ?
यो प्राविधिक विषय हो । महानगरको प्राविधिकसहित मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल इन्जिनियर एसोसिएसनको प्राविधिक टोलीले गहिरो अध्ययन गरेर रिपोर्ट दिएको छ । त्यसै रिपोर्टका आधारमा पुनर्निर्माण गरेर सञ्चालन गर्न सकिने भवनको पुनर्निर्माण हुन्छ । प्राविधिकले दिएको सुझावअनुसार काम पनि सुरु भइसकेको छ ।
भनेपछि आगजनी गरिएको भवन पुनर्निर्माण गर्दा विकास निर्माणमा कतिको असर पर्ने देख्नुहुन्छ ?
महानगर क्षेत्रका धेरै सडक, नाला, कल्भर्ट, पुललगायत भविष्यमा निर्माण हुने भौतिक संरचनामा आगजनी भएको छ भन्छु म । किनभने सडक, नालालगायत भौतिक संरचनाका लागि छुटाइएको बजेट अब महानगरको भवन, वडा कार्यालयको भवनको पुनर्निर्माणका साथै फर्निचरसहित कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्नमै चालु आर्थिक वर्षको बजेटको ठुलो हिस्सा खर्च हुने निश्चित छ । यसले गर्दा विकास निर्माणमा त अवश्य पनि असर पर्छ नै ।
नजिकको, घरदैलोको र सहज पहुँच भएको सरकार भन्दै हुनुहुन्थ्यो अघि, त्यसो भए भवनमा चाहिँ किन आगजनी भयो त ?
आन्दोलनमा धेरै किसिमका मान्छे सहभागी हुन्छन् । कसैको सफा नियत हुन्छ भने कसैको खराब नियत हुन्छ । हाम्रो समाजमा सबै मानिस एउटै नियतको हुँदैनन् । जेनजीले उठाएका माग राम्रा थिए । मैले पनि आन्दोलनकै बेला जेनजीका मागका विषयमा मेरो सचिवालयबाट समर्थनमा वक्तत्व नै सार्वजनिक गरेको थिएँ ।
तपाईँले नजिकको सरकार भएर पनि महानगरमा किन आगजनी भयो भन्न खोज्नु भएको हो जस्तो मलाई लाग्यो । विराटनगर महानगर मात्रै होइन तपाईँलाई थाहा छ धेरै पालिकाका कार्यालयमा आगजनी भएको छ । तीनै तहको सरकारका धेरै भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ । सार्वजनिक सम्पत्ति भनेको जनताकै सम्पत्ति हो । सार्वजनिक सम्पत्तिमा क्षति गर्नुहुने थिएन । अब बनाउँदा पनि जनताले नै तिरेको करबाट बनाउने हो । यदि सार्वजनिक सम्पत्तिमा क्षति नपु¥याएको भए त्यो बजेटले जनताकै सडक र नाला बन्ने थिए । सरकारी विद्यालयका भवन बन्ने थिए । क्षति पु¥याइएका सार्वजनिक संरचना पहिलाकै जस्तो बनाउन अब केही दशक कुर्नुपर्छ ।
अब तपाईँको बाँकी कार्यकाल पुनर्निर्माणमै जाने भयो हैन ?
पुनर्निर्माणसँगै जनताका नियमित काम पनि गर्ने हो । विकास निर्माणका काम गर्न चाहिँ बजेटको अभाव हुने निश्चित भयो ।
विगतमा बजेट हुँदा पनि जनअपेक्षाअनुसार काम गर्न सक्नु भएन भन्ने गुनासो छ नि ?
काम गर्नका लागि बजेट आवश्यक पर्ने रहेछ । म पनि मेयर हुनुभन्दा अगाडि बाहिर बसेर त्यसै भन्थेँ । तर बाहिर बसेर भन्नु र यथार्थमा आफू त्यो ठाउँमा पुगेर काम गर्नु निकै फरक विषय रहेछ । महानगरसित सीमित स्रोत छ । हाम्रो आन्तरिक आम्दानी पनि एकदमै कम छ । गत आर्थिक वर्ष करिब ६२ करोड आन्तरिक आम्दानी भयो । महानगरको प्रशासनिक खर्च नै ५० करोडभन्दा बढी छ । प्रशासनिक खर्च कटौती गर्ने ठाउँ पनि छैन । संघीय सरकारले पनि एकदमै कम बजेट दिने गरेको छ । महानगरको आन्तरिक स्रोतले भ्याएसम्म काम गरिरहेका छौं ।
अहिलेसम्मको आफ्नो कार्यकाल के कति काम गर्नुभयो ?
स्रोत साधनको अभावले जनताले अपेक्षा गरेअनुसार काम गर्न सकेनौँ होला तर कामै नभएको होइन । महानगरमा धेरै काम भएका छन् । जनताका चाहना असीमित हुन्छन् । सरकारसँग सीमित स्रोत हुन्छ । त्यही स्रोतबाट जनताका चाहना परिपूर्ति गर्ने हो । महानगरले पनि त्यही गरिरहेको छ । भौतिक संरचनातर्फ म आइकन ४९ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेका छौं । महानगरले ७२ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४ किलोमिटर नाला, २३३ वटा कल्भर्ट, १३६ किलोमिटर आरसीसी सडक ढलान र १२ किलोमिटर रिटेरिङ वाल निर्माण गरिएको छ ।
यसबाहेक बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १ मा बाल उद्यान, महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माण, प्रधानमन्त्री पार्क, महानगरको प्रशासनिक भवन, विराटनगर–४ राजवंशी चोकदेखि पश्चिम पुलचोकदेखि पिचरा नहर हुँदै विराटनगर–१३ स्थित पूर्वाञ्चल बालश्रम दक्षिण मुख्य सडकसम्म नहरको डिलको सडकमा कालोपत्रे, रानीपोखरी, मण्ठापोखरी, सन्ध्याकालीन आरतीस्थल निर्माणका चरणमा रहेका छन् । यसबाहेक महानगरका विभिन्न चोकमा ट्राफिक लाइट जडान, बोरिङ जडान जस्ता कार्य पनि भएका छन् ।
हरेक वर्ष हिउँदमै नाला सफा गर्दा तुलनात्मक रूपमा विराटनगरको डुबान समस्या कम भएको छ । सिक्स लेन सडकअन्तर्गत सहायक नाला निर्माण गरेका कारण वडा नम्बर १५ को डुबान समस्या कम भएको छ । यस वर्षको बाढी त्यस क्षेत्रका जनताले त्यो कुरा महसुस गरिसक्नु भएको छ । शिक्षा र स्वास्थ्यमा पनि धेरै काम भएका छन् । सामुदायिक विद्यालयप्रतिको अभिभावक र विद्यार्थीको आकर्षण बढाउन सफल भएका छौं । रानी र बैजनाथपुर स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरेका छौं । ती दुवै अस्पतालमा प्राविधिक उपकरणसहित दक्ष जनशक्तिको व्यवस्था गरेका छौं ।
विराटनगर–रानी सडकको सौन्दर्यीकरण गरिसकेका छौं । उज्यालो विराटनगरको योजनालाई साकार पारेका छौं । विराटनगरको भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्न विराटनगर प्राज्ञ प्रतिष्ठान स्थापना गरेका छौं । महानगरको आफ्नै लोगो र भिडियोसहितको गीत तयार पारेका छौं । हामीले विराटनगरको भौतिक विकास मात्रै नभएर मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।
चुनावी घोषणापत्रलाई फर्केर हेर्दा के कति पूरा गर्न सफल हुनुभयो ?
मैले अघि पनि भने गर्ने इच्छा र चाहना हुँदाहुँदै पनि सोचेअनुसार काम गर्न नसकिँदो रहेछ । त्यसको प्रमुख कारण भनेको बजेटकै अभाव हो । मलाई पनि चुनावी मैदानमा उत्रिँदा धेरै काम गर्छु भन्ने लागेको थियो । तर बजेट नभएपछि सबै हातखुट्टा बाँधिँदो रहेछ । मैले चुनावमा गरेका बाचामध्ये केहीलाई छाडेर पूरा गरेँ भन्ने लाग्दछ । महानगरभित्र सुशासन, कायम गर्नेदेखि लिएर जनताको सेवा छिटो छरितो गर्न हामी सफल भएका छौं । रानी र बैजनाथपुर स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरी सुविधाहरू थपेका छौं ।
जहाँ फिजियोथेरापीदेखि भिडियो एक्स–रे, ल्याब, प्रसूतिलगायतका सेवाहरू अन्य सरकारी अस्पतालभन्दा सस्तो र सुलभ रूपमा उपलब्ध गराइरहेका छौं । महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएका छौं । अटिजमका लागि आफ्नै भवन निर्माण गर्ने योजनामा छौं । अहिले आफ्नो भवन नहुँदा सीमित बालबालिकालाई मात्रै सेवा दिन सकेका छौं । विराटनगरबाट मात्रै होइन विभिन्न स्थानबाट अटिजममा सेवा लिन आउने गर्नुभएको छ ।
नगर प्रहरीमार्फत महानगरसहित बूढीगंगा, कटहरिसहित आसपासका पालिकाका स्थानीयको घरभित्र छिरेको सर्पको उद्धार गर्ने कार्य गरिरहेका छौं । निःशुल्क रूपमा एम्बुलेन्स र शव वाहन सेवा प्रवाह गरिरहेका छौं । विपन्नलाई शवदाहका लागि निःशुल्क रूपमा दाउरा उपलब्ध गराइरहेका छौं ।
शिक्षाको कुरा गर्दा १० विद्यालय भवन, ८ वटा विद्यालयमा शौचालय, ८ विद्यालयमा स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट जडान, ९ वटा बाल विकास केन्द्रको सबलीकरण र स्तरोन्नति गरिएको छ । त्यस्तै विभिन्न विद्यालयमा ३ सय ७० जोर फर्निचर निर्माण, ८ वटा विद्यालयमा पुस्तकालय स्थापना, ६ वटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, ५ वटा विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरिनुका साथै विभिन्न १० भन्दा बढी विद्यालयको मर्मतसम्हारका साथै रंगरोगन, कम्पाउन्डवाललगायतका भौतिक तथा शैक्षिक संरचनाको निर्माण र व्यवस्थापन गरिएको छ ।
यस्तै सबै सामुदायिक विद्यालयमा पङ्खा र इन्भटरसमेत वितरण गरिएको छ । शिक्षाको मूलधारमा समाहित गर्नका लागि प्रत्येक वर्ष धार्मिक विद्यालयलाई शिक्षक शिक्षण अनुदान उपलब्ध गराइँदै आएको छ । १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । बुक फ्री डेका रूपमा ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । हरेक वर्ष विज्ञान प्रदर्शनी, तहगत हाजिरी जवाफ प्रतियोगिता, लोकनृत्य, वादविवाद, वक्तृत्वकलालगायतका अतिरिक्त तथा सह कार्यकलापहरूसमेत सञ्चालन गरिरहेका छौं ।
जाइकाको करिब २ अर्ब रुपैयाँ अनुदान सहयोगमा विराटनगरमा खानेपानीको परियोजना जारी छ । सन् २०२६ भित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मैले चुनावको बेला विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने बाचा गरेको थिएँ । त्यसअनुसार अहिले धमाधम काम भइरहेको छ ।
चुनावी घोषणापत्रअनुसार थुप्रै काम भएका छन् जस्तो लाग्दछ मलाई । घोषणापत्रमा उल्लेख भएका शतप्रतिशत कसैले पनि पूरा गर्न सक्दैन ।
पालिकाका जनप्रतिनिधिले मात्रै होइन प्रधानमन्त्री, मन्त्री र सांसदहरूले पनि चुनावी घोषणापत्रमा उल्लेख भएका सबै कुरा पूरा गर्न सक्दैन । घोषणापत्रअनुसार जति काम हुनुपर्ने हो त्यो गर्न सकिएको छैन । म त्यसलाई स्विकार्दछु । यसको मुख्य कारण भनेको बजेटकै अभाव हो ।
प्रतिक्रिया