झापा : जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल प्रयोग गरी मतदाताको गोपनीयता भङ्ग हुने गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ। फेसबुक, युट्युबसहितका सामाजिक सञ्जाल प्रयोग गर्दै केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न सोध्ने कार्य गरिरहेको जानकारी प्राप्त भएपछि प्रशासनले यस्तो चेतावनी जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय झापाले मिति २०८२ माघ १८ गते जारी गरेको सूचनामा उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घन हुने स्पष्ट उल्लेख गरिएको छ। सूचना जारी भएपछि पनि यस्ता गतिविधि गरिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार मतदाताको गोपनीयता संविधान तथा निर्वाचन कानुनले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको उल्लङ्घन हुने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गरिएको छ। विशेषगरी निर्वाचनको संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गरिने यस्ता प्रश्नले मतदातामाथि दबाब सिर्जना हुन सक्ने भन्दै सबै सञ्चारमाध्यम र व्यक्तिलाई जिम्मेवार हुन आग्रह गरिएको छ।
सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंको हस्ताक्षर रहेको छ। उनीहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न र कानुनविपरीत गतिविधिबाट टाढा रहन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
प्रतिक्रिया