धनगढीका मेयर हमाल भन्छन्– ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’

आइतबार, १८ माघ २०८२

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनता रोजेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ लेखेका छन्।

स्वतन्त्र रूपमा चुनाव लडेर स्थानीय तहमा विजयी भएका तीन मेयरमध्ये दुई जना भने पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिसकेका छन्।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताका रूपमा झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा छन्। यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गर्दै सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन्। तर धनगढीका मेयर हमालले भने नगरवासीले आफूलाई पाँच वर्षका लागि दिएको जनादेश पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उठेका हमाल कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७०० मतले पराजित भएका थिए। तर २०७९ सालको निर्वाचनमा उनले वडलाई पराजित गर्दै मेयरमा विजय हासिल गरे।

२०७९ को निर्वाचनमा हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धीले १४ हजार ८१७ मत ल्याएका थिए भने तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार