दल बदलेर उम्मेदवार बन्ने, टिकटककै लागि राजनीतिक निष्ठा गुमाउने यी उम्मेदवारहरू (नामावलीसहित)

आइतबार, १८ माघ २०८२
Pic AI

काठमाडौं : कुनै एक राजनीतिक दलमा वर्षौं काम गरेका नेताहरू यसपटकको प्रतिनिधि सभामा उम्मेदवार बन्नकै लागि दल बदल्ने क्रममा छन्। आफू आबद्ध दलबाट उम्मेदवारी नपाएपछि टिकटको बार्गेनिङ गर्ने क्रममा केही नेताहरू अन्तिम समयमा पार्टी छाडेर अर्को दल प्रवेश गरेका छन्।

फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा ३० भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले दल बदलेर चुनावी मैदानमा प्रवेश गरेका छन्। यसमा सबैभन्दा बढी आठ जना नेताहरू नेपाली कांग्रेस छाडेर रास्वपा लगायत अन्य दलबाट टिकट लिएका छन्। त्यस्तै, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट पनि धेरै नेता दल बदलका छन्।

दल बदल्ने अधिकांश उम्मेदवार तराई–मधेश केन्द्रित छन्। अघिल्ला निर्वाचनमा पनि नेताहरूले दल बदल्ने अभ्यास गर्दै आएका कारण यो नयाँ होइन। यद्यपि यसपटक ठूला भनिएका राजनीतिक दलमा समेत ठूलो संख्यामा दल बदलेर टिकट लिने–दिने काम भएका छन्।

दल बदल्दा पनि पटकपटक एउटै व्यक्ति उम्मेदवार बनेपछि मतदाता एउटै अनुहारप्रति आजित भएका छन्। अवसरवादी नेताहरू प्रायः पार्टीको विचारभन्दा आफ्नै स्वार्थमा केन्द्रित हुने गरेको राजनीतिक वृत्तमा बहस छ।

प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तु–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिक्रमसिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेर टिकट लिएका छन्। पूर्व एसएसपी समेत रहेका थापा २०७९ मा लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार थिए। कांग्रेसबाट टिकट नपाएपछि उनी रास्वपाबाट उम्मेदवारी दिएका हुन्।

लुम्बिनी प्रदेशकै अर्को जिल्ला, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कांग्रेस नेता विक्रम खनालले पनि ४२ वर्ष सक्रिय रहेपछि कांग्रेस छाडेर रास्वपा प्रवेश गरे। २०७० मा कांग्रेसबाट संविधान सभा सदस्य बनेका खनालले २०७९ को निर्वाचनमा असहयोग गरेको आरोपमा कारबाही भोगेका थिए।

सुनसरी–४ का कांग्रेसका युवा अबुल हुसेन अन्सारी उम्मेदवारी अघि पार्टीको नयाँ नेतृत्वविरुद्ध सडकमा नारा लगाइरहेका थिए। तर अचानक एमालेले टिकट दिने भएपछि उनले कांग्रेस छाडेर एमालेमा प्रवेश गरे। एमालेले उनलाई अन्ततः रोक्दै पुराना नेता जगदीश कुसियतलाई उम्मेदवार बनायो।

रुपन्देही–४ मा कांग्रेसबाट निर्वाचित पूर्वप्रतिनिधि सभा सदस्य प्रमोद यादवलाई एमालेले टिकट दियो। २०७४ र २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका यादव कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरे। अछाम क्षेत्र नम्बर २ का पुराना कांग्रेस नेता बलबहादुर कुँवर पनि माओवादी केन्द्र प्रवेश गरेर टिकट लिएका छन्।

तनहुँ–२ मा कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका यामबहादुर खाँड, पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया, राजेश सिंह सामन्त, अमरेश कुमार सिंह, शिवपुजन यादव, रामाशंकर कुशवाह, रामेश्वर राय यादव, रास्वपाका अन्सारी, वृजेशकुमार गुप्ता, अनिल झा, अशोक राई, प्रदीप यादव, अम्बिरबाबु गुरुङ, सुनिल केसी, रामलाल डगौरा, दीपक साउद, सतिशकुमार सिंह यादव, सुशील साह, रामकिशोर सिंह (पराग), आत्मराम साह, ओमप्रकाश यादव, वीरेन्द्र महतो जस्ता नेताहरूले पनि अन्तिम घडीमा दल परिवर्तन गरेर उम्मेदवारी दिएका छन्।

राजनीतिक विश्लेषक मुमाराम खनालका अनुसार पार्टी छाडेर टिकट पाउने नेताहरू अवसरवादी छन्। यसले इमानदार कार्यकर्तालाई अवसरबाट वञ्चित बनाएको छ। ‘वैचारिक दृष्टिकोणभन्दा टिकटकै लागि दल बदल्ने प्रवृत्ति मुलुकको हितमा छैन,’ खनालले भने। ‘रातारात दल बदल्ने र टिकट दिने प्रवृत्तिले इमानदार राजनीतिकर्मी अवसरबाट वञ्चित हुने गरेका छन्।’

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार