झापा : झापाको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोक नजिकै भएको सवारी दुर्घटनामा एक जना पैदल यात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार भद्रपुर–बनियानी पक्की सडकखण्डमा बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका भद्रपुर नगरपालिका–२ निवासी ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक भद्रपुर नगरपालिका–६ निवासी २१ वर्षीय अनुराग घोष दुर्घटनामा परी अनुहारमा गम्भीर चोट लागेको छ। प्रारम्भिक उपचार प्रादेशिक अस्पताल भद्रपुरमा गरिएपछि थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल रेफर गरिएको छ। उपचारका क्रममा उनका श्रीमती संलग्न रहेको जनाइएको छ।
त्यसैगरी मोटरसाइकलमा पछाडि सवार भद्रपुर नगरपालिका निवासी २१ वर्षीय मन्दीप दंगालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रतिक्रिया