उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफ काठमाडौंले एलएक्स सिटी फुटबल क्लब बेलबारी, मोरङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
एपीएफले एलएक्स सिटीलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो। खेलको ४३औँ मिनेटमा एपीएफका जर्सी नम्बर ११ का श्याम नेपालीले गरेको आकर्षक गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफका जर्सी नम्बर १५ का विवेक थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुनेछन्। पहिलो सेमिफाइनल खेल यङ ब्रदर्स क्लब इटहरी सुनसरी र न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीबीच हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया