काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रघुवरराज थापा अहिले घरदैलो अभियानमा व्यस्त छन्।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सक्रिय नेता हुन्। उनी राजसंस्था, राष्ट्रियता, हिन्दु राज्य तथा पहिचानको राजनीतिमा विश्वास गर्ने धारका रूपमा चिनिन्छन्। रघुवरराज थापा ०७९ को संघीय निर्वाचनमा ललितपुर-२ बाट नै प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए तर विजयी हुन सकेनन्।
त्यसवेला थापाको चुनावी मैदानमा प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेकपा (एमाले) का प्रेम बहादुर महर्जनले जितेका थिए। थापाले ०७९ को चुनावमा ६ हजार ६ सय ४६ मत ल्याएका थिए। यस पटक पनि उनी आफ्ना एजेण्डा लिएर ललितपुर क्षेत्र नं. २ का उम्मेदवारका रुपमा प्रचारप्रसारमा लागिरहेका छन्।
साना-साना टोली बनाएर टोल-टोल पुग्दा उनी एकातिर पार्टीको एजेण्डा सुनाइरहेका छन्, अर्कातिर जनताको मनोविज्ञान बुझ्ने प्रयासमा छन्। उनले भने, ‘यतिबेला चुनावी तयारीको मुख्य कुरा भनेकै एजेण्डा हो,’ उनी भन्छन्, ‘राप्रपाले उठाएका मुद्दा कसरी जनतासम्म लैजाने भन्नेमा नै हामी केन्द्रित छौँ।’
थापाका अनुसार अहिलेको राजनीतिक अवस्था तरल छ। यही परिवेशमा राप्रपाले उठाएका मुद्दाहरू बिस्तारै स्थापित हुँदै गइरहेका छन्। ‘प्रतिक्रिया राम्रो छ,’ उनी भन्छन्, ‘अन्य पार्टीसँग आबद्ध भएका व्यक्ति पनि हामीसँग जोडिन खोजिरहेको अवस्था छ।’ यद्यपि, सबै मतदाता एकैखाले छैनन्। कतिपय अन्योलमा छन्, कोही चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्कामा छन्, भने केही अत्यन्तै उत्साहित पनि देखिन्छन्।’
विशेषगरी जेनजी आन्दोलनपछिको परिवेशमा राष्ट्रसंस्थाको भूमिका र धर्मको विषयले जनताको ध्यान खिचेको थापा बताउँछन्। घरदैलोका क्रममा मतदाताले उनलाई प्रत्यक्ष प्रश्न गर्छन ‘तपाईं राप्रपाबाट उम्मेदवार हुँदा हामीले भोट किन दिने? तपाईंको एजेण्डा के हो?’ कतिपयले त खुलेरै भन्छन्, ‘हामी यसपाली तपाईंलाई भोट दिन्छौं, तर तपाईंलाई नजिकबाट बुझ्न चाहन्छौं।’
‘कसलाई भोट दिँदै छु, उसको पर्सनालिटी, शिक्षा, पृष्ठभूमि के हो? यो जान्न चाहने मतदाता धेरै छन्,’ थापा भन्छन्। राप्रपा २०७२ सालको संविधानअन्तर्गत चुनावमा होमिएको भए पनि पार्टीको एजेण्डा अरू दलभन्दा पृथक रहेको उनको दाबी छ।
‘जहाँ धेरै दल गणतन्त्रवादी सोचमा छन्, हामी ठीक विपरीत संघीयता खारेज, धर्मनिरपेक्षता अन्त्य, हिन्दु राष्ट्र स्थापना र राष्ट्रसंस्थालाई अभिभावकको रूपमा स्थापित गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढिरहेका छौँ,’ उनी स्पष्ट गर्छन्।
जेनजी आन्दोलनलाई लिएर युवापुस्तामा बढ्दो चेतनालाई थापा सकारात्मक रूपमा हेर्छन्। ‘हामीले उठाएका धेरै एजेण्डा जेनजी आन्दोलनका मागसँग मिल्दोजुल्दो छन्, उनी भन्छन्, ‘सुशासन, कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी-यी सबै विषय राप्रपाले वर्षौंदेखि सडक र सदनमा उठाउँदै आएको हो।’ कोटेश्वरमा गरिएको आन्दोलनलाई स्मरण गर्दै उनी जेनजी आन्दोलन त्यसैको प्रतिरूप जस्तो पनि लाग्ने बताउँछन्।
राजनीतिसँगै शिक्षण पेसामा पनि सक्रिय थापा विगत चार वर्षदेखि पद्मकन्या क्याम्पसमा बीबीएस कार्यक्रम अध्यापन गराइरहेका छन्। प्रशासन, राजनीति र नीति निर्माणका विषयमा अध्ययन-अनुभव रहेको दाबी गर्दै उनी भन्छन्, ‘जनआवाजलाई कसरी नीति बनाउने, सार्वजनिक सेवा कसरी प्रभावकारी बनाउने भन्नेमा म आफूलाई जानकार ठान्छु।’
ललितपुर क्षेत्र नं. २ का समस्या नेपालका धेरै क्षेत्रसँग मिल्दोजुल्दो रहेको उनी बताउँन्। ‘बेरोजगारी, ब्रेन ड्रेन, युवामा बढ्दो नैराश्य, उत्पादनशील क्षेत्रमा न्यून लगानी,’ उनले भने।
उनका अनुसार अहिलेको युवामा दुई प्रकारको भावना देखिन्छ । एकथरी युवालाई सानैदेखि यहाँ केही हुँदैन, विदेश जानु नै विकल्प हो भन्ने मानसिकता सिकाइएको छ । अर्काथरी सचेत युवाले देशमै केही गर्न चाहन्छन्, तर भ्रष्टाचार र कुशासनले सम्भावना देख्न नसकिरहेका उनको भनाइ छ ।
‘ग्लोबलाइजेसनको यो समयमा युवाले बाहिरका देशको विकास, सेवा प्रवाह र रुल अफ ल देखिरहेको छ,’ थापा भन्छन्, ‘तर ०४६ साल र ६२÷६३ पछिको अवस्थामा हामीले जुन फड्को मार्नुपर्ने थियो, त्यसको सट्टा पछाडि परेको अनुभूति युवामा छ,’ उनले भने ।
समाधानका रूपमा उनी रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र राष्ट्रियताको भावना जगाउनुपर्नेमा जोड दिन्छन्। ‘यदी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर सुशासन कायम गर्न सक्यौं भने, यो असम्भव कुरा होइन,’ उनी भन्छन्।
कृषि र उत्पादन क्षेत्रमा राज्यको भूमिका निर्णायक हुनुपर्ने उनको धारणा छ। आयात प्रतिस्थापन, अनुदान, बजारको सुनिश्चितता, कोल्ड स्टोरेजजस्ता संरचना विकास भएमा किसानको उत्पादन खेर नजाने उनी बताउँछन्।
‘हामी दूध, तरकारी फालिएको देख्छौं, तर सस्तो आयातका कारण हाम्रो उत्पादनले बजार पाउँदैन,’ उनी भन्छन्। घरदैलो अभियानकै क्रममा स्थानीयले खानेपानी र पूर्वाधारका गम्भीर समस्या सुनाएको प्रसंग पनि थापा सुनाउँछन्।
‘एक शिक्षित महिलाले वर्षमा एक लाख २५ हजार रुपैयाँ पानी किन्न खर्चिनुपरेको गुनासो गर्नुभयो,’ उनले सुनाए। ललितपुर क्षेत्र नं. २ ले बढ्दो जनघनत्व धान्न नसकेको, मेलम्ची नपुगेको र दशकौँदेखि सडक आयोजना अलपत्र परेको अवस्था रहेको उनी बताउँछन्।
‘अहिले मेरो क्षेत्रले ठूलो जनघनत्वलाई धान्न नसक्ने अवस्था छ । यहाँ खानेपानी होस् या अन्य सुविधाहरू पनि दिन नसकेको अवस्था छ । हामी त यहीँ ठाउँमा जन्मियौं, हामी त जन्मेदेखि नै इनार र कुवाको पानीमा निर्भर भयौं,’ उनले भने।
उनले खानेपानीलगायत आधारभूत सुविधाको गम्भीर अभाव रहेको उल्लेख गर्दै भने, ‘यहाँका बासिन्दा जन्मेदेखि नै इनार र कुवाको पानीमा निर्भर छन्। मेलम्ची खानेपानी आयोजना पनि यस क्षेत्रमा प्रवेश गर्न सकेको छैन।’
थापाका अनुसार यस क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि विनियोजित करिब ४३ करोड रुपैयाँ बजेट प्रयोगविहीन (फ्रिज) भएको छ । ‘पहिला सरकारमा रहेका र स्थानीय निकायमा बसेकाहरूले बजेटलाई दीर्घकालीन समाधानका लागि सदुपयोग गर्न सकेनन्,’ उनले भने।
गोदावरी खोलाबाट पानी ल्याउने प्रयासमा अर्बौँ रुपैयाँ खर्च भए पनि त्यो दीर्घकालीन समाधान नभएको उनको भनाइ छ। ‘आज पनि यहाँका मानिसहरू इनार-कुवा वा महँगो पानी ट्याङ्करको भरमा बाँच्न बाध्य छन्,’ थापाले बताए।
उनले दीर्घकालीन समाधान सम्भव रहेको उल्लेख गर्दै फुलचोकीको पूर्वतर्फ बग्ने खोलाबाट सुरुङमार्गमार्फत मेलम्ची जस्तै आयोजना ल्याउन सकिने दाबी गरे।
साथै, कुशादेवी–लुभु–लामाटार–लाकुरी भञ्ज्याङ हुँदै पनौती र रोशी खोला जोड्ने सडक आयोजना वर्षौँदेखि अलपत्र परेको उल्लेख गर्दै त्यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । ‘समस्या दीर्घकालीन छन्, तर समाधान असम्भव छैन,’ थापाले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना उमेदवारहरुले जितको आधार पार्टीको एजेण्डा नै प्रमुख रहने उनले बताए। उनले अबको राजनीतिक संघर्ष केवल सार्वभौम सत्ता जोगाउनेमा सीमित नरहेको उल्लेख गर्दै त्यसलाई पुनःप्राप्त गर्दै राष्ट्रिय एकता मजबुत बनाउने लडाइँ भएको दाबी गरे ।
‘हामी जित्ने आधार भनेकै राप्रपाको एजेण्डा हो । अबको लडाइँ सार्वभौम सत्ता जोगाउने मात्र होइन, पुनःप्राप्त गर्ने र राष्ट्रिय एकता मजबुत बनाउने हो,’ थापाले भने।
प्रतिक्रिया