काठमाडौँ : इटाली पठाइदिने भन्दै ५ जना बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
बङ्गलादेशबाट करिब २० दिनअघि नेपाल ल्याइ उनीहरूलाई बन्धक बनाएर रकम असुली गरिएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार माघ १९ गतेदेखि काठमाडौँको भंगालस्थित एक घरमा बन्धक बनाएर राखिएको अवस्थामा पीडितहरूको उद्धार गरिएको हो।
प्रहरीले मंगलबार पीडितहरूको उद्धार गर्दै घटनामा संलग्न आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा बङ्गलादेश घर भई टोखा बस्ने ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतीय नागरिक ४१ वर्षीय सरोज कुमार तथा नुवाकोट घर भएका ३२ वर्षीय नेपाली नागरिक शशि पाठक रहेका छन्।
पीडितहरूले काठमाडौँ हुँदै इटाली पठाइदिने भन्दै आफूहरूसँग बङ्गलादेशी मुद्रा ८ लाख रुपैयाँसम्म असुल गरिएको प्रहरीसमक्ष बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया