निर्वाचन आयोग–टिकटकबीच समझदारी, एप खोल्नेबित्तिकै देखिनेछ निर्वाचन सन्देश

बुधबार, २१ माघ २०८२

काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा मिथ्या तथा भ्रामक सूचना फैलिन नदिन निर्वाचन आयोग र भिडियो सेयरिङ प्लाटफर्म टिकटकबीच औपचारिक समझदारी भएको छ ।

समझदारीअनुसार अब टिकटक एप खोल्नेबित्तिकै निर्वाचनसम्बन्धी सन्देशमूलक तथा सचेतनामूलक भिडियोहरू स्वतः देखिने व्यवस्था मिलाइएको छ ।

बुधबार आयोगमा आयोजित कार्यक्रममा टिकटकका दक्षिण एसिया प्रमुख फिर्दोस मोत्ताकिन र आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समझदारी–पत्र आदानप्रदान गरे ।

टिकटकमार्फत सेयर गरिने भिडियोमा कसैलाई हानि पुर्‍याउने नियतले फैलाइने झुटा विवरणलाई मिथ्या सूचना भन्दै कुनै पनि सामग्री सेयर गर्नुअघि प्रयोगकर्तालाई एकपटक सोच्न र हतार नगर्न आग्रह गरिएको छ ।

आयोगका प्रवक्ता भट्टराईले यस सहकार्यले भ्रामक सूचनाविरुद्ध जनचेतना फैलाउन उल्लेखनीय योगदान पुग्ने बताए । टिकटकका दक्षिण एसिया प्रमुख मोत्ताकिनले निर्वाचनका बेला सुरक्षित र जिम्मेवार डिजिटल अभिव्यक्तिको वातावरण निर्माण गर्न आयोगसँग समन्वय गरिएको स्पष्ट पारे ।

उनका अनुसार निर्वाचनसम्बन्धी सामग्रीलाई विश्वसनीय र पारदर्शी बनाउन तथ्य–जाँच साझेदारसँग सहकार्य, कम्युनिटी गाइडलाइनको कडाइका साथ कार्यान्वयन तथा शंकास्पद सामग्रीको निगरानी र हटाउने प्रक्रिया प्रभावकारी बनाइएको छ ।

यस सहकार्यअन्तर्गत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, मतदाता शिक्षाका सामग्री प्रवर्द्धन तथा मिथ्या र भ्रामक सूचनाको पहिचान र नियन्त्रणमा संयुक्त प्रयास गरिनेछ ।

टिकटकले राजनीतिक विज्ञापन र संवेदनशील सामग्रीमा विशेष सतर्कता अपनाउँदै प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट जानकारी लिन प्रोत्साहित गर्ने व्यवस्था गरेको जनाएको छ ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचनाले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा असर पार्न सक्ने भन्दै टिकटकसँगको सहकार्य महत्वपूर्ण भएको बताए ।

‘युवा पुस्तामा ठूलो पहुँच भएको टिकटकजस्तो माध्यमसँग मिलेर काम गर्दा सही सूचना छिटो र व्यापक रूपमा पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘आयोग लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्वाचन प्रक्रिया सुरक्षित र विश्वसनीय बनाउन प्रतिबद्ध छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार