इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
तस्निम समाचार एजेन्सीले बताएअनुसार ‘इरान र संयुक्तराज्य अमेरिकाबीच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ’।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि रहनेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुनसक्ने अमेरिकी कुटनीतिज्ञ स्टिभ विटकोफले जनाएका छन् ।
तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने कुरामा बारम्बार जोड दिँदै आएको छ ।
अराघची र विटकोफले गत वर्ष इरान र संयुक्त राज्य अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गरेका थिए र त्यसपछि इजरायलले छैटाँैं चरणको योजनाअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो ।
तेहरान र वाशिङ्गटनबीच बढ्दो तनावको बीचमा शुक्रबारको वार्ता हुनेछ । संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा इरानको सरकार विरोधी प्रदर्शनको दमनपछि मध्य पूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ ।
तेहरानले गत महिना भएको आन्दोलनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ । इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनको रूपमा सुरु भएको आन्दोलन इरानका ‘कट्टर शत्रुहरू’ संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएपछि हत्या र तोडफोड हुँदै व्यापक ‘दङ्गा’ मा परिणत भएको इरानी अधिकारीहरूले थियो ।
अमेरिकास्थित गैरसरकारी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले आन्दोलनमा छ हजार ८७२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
प्रतिक्रिया